लकडाउनले मानसिक स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँदै, अब कसरी बच्ने त ?

विश्व अहिले कोरोना महामारीको ठूलै सङ्कटमा परेको छ । चीनबाट फैलिएको कोभिड १९ ले निम्त्याएको यो विकराल अवस्थाले करोडौँलाई सङ्क्रमित बनाइसकेको छ भने लाखौँको ज्यान गइसकेको छ । यसको रोकथामका लागि विश्वका कोरोना भाइरस प्रभावित मुलुकहरूले लकडाउन गरिरहेका छन् । जसका कारण मानिसहरू बाहिर निस्कन नपाउन र भाइरस नफैलियोस् ।
तर लकडाउनका कारण अर्को समस्या निम्तिन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । सधैँको व्यस्त जीवनलाई कोभिड १९ का कारण घरभित्र, कोठाभित्र एउटा निश्चित क्षेत्रभित्र बस्न बाध्य जस्तै बनाएको छ । एक आपसमा टाढा रहेका परिवार आफन्त साथीभाइ इष्टमित्रसँगको भेटघाटमा बन्देज नै लगाइ दिएको छ । यसले मानिसलाई एक्लो पनको महसुस हुने सम्भावना बढ्दै गएको छ ।
घरपरिवारमा मात्रै सीमित रहने र बाहिर आफन्त साथीभाइ सँगको भेटघाट लगायतबाट अलग्याएको छ । जसका कारण प्रत्येक मानिस आफू एक्लो हुँदा अनेक थरी सोच दिमागमा आउने सम्भावना झनै बढ्दै गएकोले मानसिक समस्या आउने सम्भावना रहेको विश्व स्वास्थ्य सङ्गठनले नै पुष्टि गरेको छ । काम बिहीनता, एक्लो पना, दिग्दारले गर्दा मानिस बेचैन हुने देखिएको छ । दिनहुँ जसो घरमै स्थिर भएर बस्दा मानिसले अनेक थरी कुराहरू दिमागमा खेलाउन थाल्छ जसले डिप्रेसनको सिकार हुन बाध्य पनि बनाउँछ ।
यो अवस्थामा धेरै मानिस बेरोजगार भएको र फुर्सदिला भएकाले पनि मानसिक स्वास्थ्यको समस्या निम्त्याउने सम्भावना बढिरहेको छ । योसँगै बिहान बेलुकाको छाक टार्न धौधौ परिरहेका ज्याला मजदुरी गरेर परिवार पालिरहेकाहरूलाई त झनै सङ्कटको आँधी नै ल्याएको छ । जसले थप मानसिक समस्या तथा मानसिक रोग निम्त्याउन र नकारात्मक कुराहरूतर्फ सोच जान थालेको छ । डिप्रेसन, आत्महत्या जस्ता गलत कुराहरूतर्फ सोच जाने गरेको अध्ययनले देखाएको छ । यस्तै ठुला साना व्यापार व्यवसायीहरू पनि यसको मारमा परिरहेका छन् । यो समयमा हत्या हिंसा, बलात्कार आत्महत्या, आत्म दहलगायतका गलत प्रवृत्तिहरू बढ्दै गइरहेका छन् ।
यसबारे विश्वभरका मनोचिकित्सकहरूलेसमेत लकडाउनमा सिर्जना भएका कठिनाइहरूको कारण मानसिक समस्याहरूको ‘सुनामी’ आउँदै छ भनेर चेतावनी दिइरहेका छन् । यो समस्या मुख्यतया बच्चाहरू र वृद्धहरूमा हुनसक्ने भन्दै डाक्टरहरूले चिन्ता व्यक्त गरेका छन् । विशेष गरी विद्यालय बन्द भएपछिका दिनहरूमा बालबालिकाहरूमा समस्या आउन सक्ने विज्ञहरूको भनाइ छ । यस्तै मनोचिकित्सकहरूको एक सर्वेक्षणले अस्पतालहरूमा मानसिक स्वास्थ्यसँग सम्बन्धित आपतकालीन घटनाहरूको सङ्ख्या बढेको पत्ता लागेको छ ।
रोयल कलेज अफ साइकियाट्रिष्टका प्रमुख प्रोफेसर वेन्डी बर्नले कोभिड १९को सङ्कटले मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पारेको बताएका छन्। उनले लकडाउनका कारण मानसिक समस्याहरू निरन्तर बढ्दै जाने र यसले सुनामीको रूप लिने बताएका छन् ।
बच्नको लागि के गर्ने त ?
मानसिक स्वास्थ्य समस्याबाट बच्न मनोवैज्ञानिक रोजिना मानन्धरले बिबिसीसँग दिएका पाँच उपायहरू यस्ता छन् ।
१. दैनिकीमा पविर्तन : हाम्रो दैनिकी दिनहुँ जसो उस्तै भइरहेको छ । जसलाई मोनोटोनस लाइफस्टाइल भनिन्छ । ‘रिपिटेशन इज इरिटेशन’ दिनहुँ जसो एउटै कुराले दिक्दारी ल्याउँछ । जस्तै मिठो खाना पनि दैनिक खान थाल्यो भने त्यो मिठो लाग्दैन । त्यसैले दैनिकीमा परिवर्तन गर्नु राम्रो हुन्छ । जीवनमा केही नयाँ परिवर्तनहरू ल्याउँदा दिमागमा अन्य नकारात्मक कुराहरू सोच्न समय हुँदैन ।
२. स्वमूल्याङ्कन : आफूले आफैलाई मूल्याङ्कन गर्ने । विगत देखिका आफ्ना राम्रा नराम्रा कुराहरूको मूल्याङ्कन गर्ने । जसमा हामीले धेरै सकारात्मक परिवर्तनहरू पनि भएको हुनसक्छ । ती राम्रा कुराहरूलाई मूल्याङ्कन गर्ने । खुसी हुने ।
३. योगा, ध्यान, व्यायाम : व्यक्तिलाई फरक फरक कुरामा रुचि हुनसक्छ । कसैलाई योगा गर्न मन लाग्ला कसैलाई ध्यान गर्न मन लाग्ला र कसैलाई व्यायाम गर्न मन लाग्ला यो आफ्नो रुचि अनुसार शारीरिक अभ्यासहरू गर्नुहोस् । इन्टरनेट हेरेर पनि घरमै बसेर यी सबै अभ्यासहरू गर्न सकिन्छ ।
४. शोखको अभ्यास : हरेक मानिसमा आफ्नो उमेर अनुसारको शोख हुने गर्छ । पुराना शोख हरुलाई ताजगी दिने ।
५. कुराकानी : सामाजिक दुरीका कारण आफ्नो मनको कुरा कसैलाई प्रत्यक्ष सेयर गर्न नपाउने भएकोले गाह्रो पनि भएको छ । यसले गर्दा मानसिक समस्या निम्त्याउन सक्छ । त्यसैले आफ्नो मनमा लागेका कुराहरू सेयर गर्ने । मन मिल्ने साथीहरूसँग सेयर गर्ने । सेयर गरेर पनि ठिक भएन र गाह्रो भइरहेको छ भने मनोचिकित्सकहरू, मनोविमर्शकर्ताहरुसँग सल्लाह लिने । जसले मानसिक रोगबाट बच्न फाइदा हुनेछ ।








