राप्रपा एकीकरणमा नेतृत्व आरोप प्रत्यारोपमा अल्झिएको प्रति बमको आक्रोश

काठमाडौं । राप्रपा नेपालका एक युवाले पार्टीका तीन अध्यक्षहरुलाई खबरदारी गर्दै ब्यक्तिगत आरोप प्रत्यारोपमा लागेर पार्टी एकीकरणको प्रक्रिया नविथोल्न चेतावनी दिएका छन् ।
राप्रपा नेपालको प्रजातान्त्रिक विद्यार्थी संगठनका युवा नेता निराजन बमले पार्टीका तीन नेता कमल थापा, पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनीलाई मुलुकलाई बलियो प्रतिपक्षको आवश्यक्ता रहेको बेला एक अर्कालाई आरोप प्रत्यारोप लगाएर पार्टी एकता नगर्ने चलखेल भएको बताएका छन् ।
‘नेपाली जनतालाई एक बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आवश्यक भएको बेला, देशमा चरम भ्रष्टाचार भएको बेला र जनताले न्याय खोजिरहेको यो विषम परिस्थितिमा एक बलियो प्रतिपक्षी पार्टी आवश्यक भएको बेला यस्तो महत्त्वपूर्ण अवसर प्राप्त गर्ने बाताबरण सिर्जना भएको बेला अगाडि बढ्न नखोजी तपाईंहरुलाई एक अर्कालाई आरोपप्रत्यारोप लगाएर ढिलो गर्न लाज लागेन ?’ उनले प्रश्न गरेका छन् ।
युवा नेता बमले ब्यक्तिगत स्वार्थलाई परिपुर्ति गर्नका निमित्त आफुहरु पार्टीमा नलागेको बताउँदै निश्चित समय भित्र राजनीति भविष्य खोजेर पार्टीका लागि मेहनत गरेको नेताहरुलाई स्मरण गराएका छन् ।
‘पार्टीको आन्तरिक विवादलाई निश्चित सिमा र समय भित्र निकास दिन सक्नु भएन भने तपाईंहरुका झोले र संगठन नभएका तपाईंका वरिपरि हिँडेर चाकरी गरि पद खाएर बसेका राजनीति संस्कार नभएका दुई चार जना बाहेक अरु कुनै तपाईंहरु सँग रहदैनन् ।’ उनले भनेका छन् ।
साथै नेता बमले नेताहरुलाई एकले अर्कालाई आरोप प्रत्यारोप नलगाउन आग्रह गरेका छन् । ‘गिता तिनै जनाले छुनु भएको छ । गिताको अपमान भयो भने हिन्दु धर्मको मात्र हैन, तिमीहरूको समेत सत्यनास हुनेछ ।’ बमको आक्रोश छ ।
उनले अहिले पार्टी एकीकरणको बेला गाई कि हलो भनेर एकीकरण लम्बाउन खोजियो र पार्टीलाई दुर्घटना तिर धकेली भविष्यमाथि खेलवाड गरियो भने नेतृत्वकै भविष्य माथी पनि खेलवाड गर्न आफुहरुलाई आउने चेतावनी पनि दिएका छन् ।
पछिल्लो समय पशुपति शमशेर, कमल थापा र प्रकाशचन्द्र लोहनीको राप्रपा एकीकरणको प्रक्रियामा छ । पार्टीको चुनाव चिन्ह गाई की हलो राख्ने विषयमा शमसेर, थापा र लोहनी विच मतान्तर देखिएको छ ।








