कोरोना नियन्त्रणका लागि खैरहनीमा बढाइयाे सक्रियता, तीन समिति गठन

चितवन । खैरहनी नगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विभिन्न क्षेत्रमा कडाईका साथ अनुगमन गर्ने भएको छ । लकडाउन खुलेर बजारमा भीडभाड बढ्दै जाँदा कोरोनाको संक्रमण झनै बढ्ने देखिएकाले नियन्त्रणका लागि क्षेत्रगत रुपमा समिति बनाई अनुगमन तीव्र पार्ने भएको हो ।

खैरहनी नगरपालिकाको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले तीन वटा समिति गठन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । नगर भित्रका बैंक तथा वित्तिय क्षेत्रको अनुगमन गर्न खैरहनी उपमेयर सुनिता थपलियाको संयोजकत्वकमा खैरहनी चेम्वर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ, नगरपालिका सामाजिक विकास समिति संयोजक मनेजर महतो र इलाका प्रहरी कार्यालय खैरहनीका प्रतिनिधी सदस्य रहने गरि समिति बनाइएकाे छ ।

वाणिज्य तथा आपूर्ती क्षेत्रको अनुगमन गर्न उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको संयोजकत्वमा खैरहनी नगरपालिका प्रवक्ता रामशरण पाण्डे, वडा नम्वर ८ का वडाध्यक्ष टेकबहादुर थापा क्षेत्री र इलाका प्रहरी कार्यालय खैरहनीका प्रतिनिधि सदस्य रहने समिति बनाइएकाे प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

त्यस्तै नगर क्षेत्रको उद्योगको अनुगमन गर्न उद्योग संघ खैरहनी इकाई अध्यक्ष प्रतिभा श्रेष्ठको संयोजकत्वमा वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक भूमि प्रसाद कडेंल र इलाका प्रहरी कार्यालय खैरहनीका प्रतिनिधी रहने गरि समिति बनाइएकाे छ ।

ति तीन् वटै समितिले नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाए,नअपनाएको बारे अनुगमन गर्ने, कमजोरी रहेमा पालना गर्न लगाउने र अटेरी गर्ने संस्था वा व्यक्तीलाई आवश्यक कारवाहीका लागि सिफारीस गर्नेछ ।

खैरहनी नगरपालिकामा पनि कोरोनाको जोखिम वढ्दै गएकाले अनुगमन आवश्यक रहेको मेयर लालमणि चौधरीले बताए । सरकारले अझै कतिपय संस्था वा फर्महरु संचालन नगर्न भनेपनि अटेरी गरेर व्यवसाय वा फर्म संचालन गर्दा कोरोनाको जोखिम बढ्ने भएकाले सबै जिम्मेवार हुनुपर्ने मेयर चौधरीको भनाइ थियो ।

सरकारले सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, शैलुन, व्युटीपार्लर, जिम खाना लगायतको क्षेत्र संचालन नगर्न पटक पटक अनुरोध गरेको छ । तर शैलुन, व्युटीपार्लर, जिम खानाहरु अझै पनि संचालनमा रहेकाले अनुगमन गरेर बन्द गराईने मेयर चौधरीले बताए । बैठकले कवाडी संकलनको कार्य तत्काल रोक्ने निर्णय पनि गरेको छ ।

कवाडी संकलनमा कार्यरत मजदुरका कारण पनि कोरोना संक्रमण हुने देखिएकाले यस्तो कार्य रोक लगाउने निर्णय भएको हो । जोखिम रहेकै बेला खैरहनी नगरपालिकामा बिहीबार एक युवकमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । ति युवक हाल भरतपुरको आईसोलेसनमा रहेका छन् । २३ वर्षीय युवकमा कोरोना देखिएपछि दक्षिण तर्फ राजमार्गदेखि उत्तर खानेपानी ट्यांकी मगनी चोक जाने बाटोमा पर्ने लाहुरे टोल र आसपासका क्षेत्रमा व्यक्तीको आवतजावतमा कडाई गरिएको छ । साथै ति युवकको सम्पर्कमा रहेका केही व्यक्तीहरुको पहिचान गरि होम क्वारेन्टिनमा राखिएको नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्माले बताए ।

सुरुवातमा केही व्यक्तीको पहिचान भएको र अझै जारी रहेको शर्माले बताए । खैरहनीका मेयर लालमणि चौधरीको अध्यक्षतामा बसेको बैठकमा खैरहनी नगरपालिका उपमेयर सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, नगर प्रवक्ता रामशरण पाण्डे, विपद व्यवस्थापन समिति संयोजक भूमि प्रसाद कडेंल, सदस्य टेक बहादुर थापा क्षेत्री, सामाजिक विकास समिति संयोजक मनेजर महतो, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्ती मगर, उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, महासचिव कुमार खनाल, उद्योग संघ खैरहनी इकाई अध्यक्ष प्रतिमा श्रेष्ठ, खैरहनी चेम्वर अफ कर्मसका अध्यक्ष प्रकाश श्रेष्ठ, खैरहनी नगरपालिका प्रशासकीय अधिकृत दामोदर अधिकारी, स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्माको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =