कोरोना नियन्त्रणमा वीपीका उपकुलपति गैरजिम्मेवार भएको भन्दै कार्यकक्षमा तालाबन्दी

  • भरतराज शर्मा (गाेपाल)

धरान । पदाधिकारी गैरजिम्मेवार बनेको भन्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यालयमा तालाबन्दी गरिएको छ । कोरोना भाइरसको महामारीका समय प्रतिष्ठानका पदाधिकारी संवेदनशील नभएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ धरानले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

कोरोना भाइरसको संक्रमण धरान र वीपी प्रतिष्ठानमा समेत फैलिइरहेको बेला पदाधिकारीहरु भने सिनेट बैठक राख्न काठमाडौं आएपछि तरुण दल र नेविसंघले धरानवासीको स्वास्थ्यप्रति प्रतिष्ठान गैरजिम्मेवार भएको भन्दै उपकुलपति कार्यालयमा तालाबन्दी गरेकाे नेपाल तरुण दल क्षेत्रिय कमिटिका कार्यवाहक अध्यक्ष सम्पूर्ण ताम्राकारले जानकारी दिए ।

उनीहरुले प्रतिष्ठानद्वारा उपलब्ध ओपिडी सेवा व्यवस्थित व्यवस्थापन नगरीएको, कोभिड अस्पताल उद्घाटन गरेपनि हालसम्म सञ्चालन नगरिएको र धरानलाई कोभिड ग्रस्त बनाउन उपकुलपति स्वयम् लागेको आरोप लगाउँदै तालाबन्दी गरेका हुन् ।

‘धरान लकडाउन भई जिल्ला प्रशासनले साउन ३२ गतेसम्म निषेधाज्ञा गरेको अवस्थामा प्रतिष्ठानका उपकुलपति भने उहाँका पदाधिकारी र जिम्मेवार चिकित्सकलाई लिएर सिनेट बैठक राख्न काठमाडौं जानुभयाे,’ तरुण दल क्षेत्रिय अध्यक्ष सम्पूर्ण ताम्राकारले भने,  ‘कोरोना भाइरस रोकथाम र नियन्त्रणमा उपकुलपतिको भूमिका सकारात्मक देखिएन । उहाँले कुन स्वार्थ पुरा गर्न महामारीको बेला सिनेट राखे खोज्ने बेला भएको छ ।’

तरुण दल र नेविसंघले संयुक्त विज्ञप्ति प्रकाशित गरेर धरानमा कोरोना भाइरसको संक्रमण भएपनि घरमै बस्न बाध्य बिरामीलाई तुरुन्त अस्पतालमा भर्ना गर्न माग गरेका छन् । धरानबासीलाई २५वटा आइसोलेसन वेडको व्यवस्था गर्न भनिएको छ भने, कोभिड अस्पताल सम्पूर्ण व्यवस्थापनका साथ तुरुन्त सञ्चालन गर्न माग गरिएको छ ।

यस्तै अव्यवस्थित ओपिडी सेवा तुरुन्त बन्द गरी नयाँ तथा पुराना बिरामीका लागि व्यवस्थित सेवा सञ्चालन गर्न भनिएको छ । आइसियू र डायलाइसिस सेवाको क्षमता वृद्धि गर्न भनिएको छ । यसैगरी प्रतिष्ठानमा अध्ययन र जागिरका लागि स्थानीय कोटाको उचित व्यवस्थापन गर्न भनिएको छ । यसका साथै प्रतिष्ठानको सिनेट बैठक राख्नु अघि स्थानीय निकाय धरान उपमहानगरपालिकासँग आवश्यक समन्वय गर्न र असार ३० गते डाकिएको सिनेट बैठक तुरुन्त स्थगित गर्न पनि विज्ञप्तिमा भनिएकाे छ ।

नेविसंघ र तरुण दलले माथि उल्लेखित मागहरु पुरा नगरे अझ शशक्त आन्दोलन गर्ने जनाएका छन् । जारी विज्ञप्तिमा तरुण दल धरानका अध्यक्ष हिमाल श्रेष्ठ र स्वतन्त्र विद्यार्थी युनियनका दोर्जी शेर्पाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =