चितवन मेडिकल कलेज भन्छ– मेदान्तको जस्तै सेवा दिएका छौँ

चितवन । चितवन मेडिकल कलेजमा गत आर्थिक वर्ष २०७६/७७ मा ३ लाख भन्दा बढीले सेवा लिएका छन् ।

मेडिकल कलेजले आइतबार पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार गत वर्ष ३ लाख २४ हजार ६६९ जनाले ओपिडि सेवा लिएका छन् । सेवा लिने विरामीको विवरण प्रस्तुत गर्दै अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले ओपिडी सेवा लिएका मध्ये २ लाख ४७ हजार ८६२ जना नयाँ बिरामी रहेको बताए । त्यो अवधिमा ७६ हजार ८०७ जना पुरानै बिरामी फलोअपका लागि गएका छन् ।

एक वर्षमा १ हजार ७६३ वटा जटिल शल्यक्रिया गरेको, ३ हजार २७ जनाले निशुल्क डेलिभरी सेवा लिएको, ६३ हजार ७९७ जनाले स्वास्थ्य बीमा सेवा लिएको निर्देशक लम्सालले बताए । त्यस्तै मुटु, हेड इन्जुरी, स्पाईनल इन्जुरी, क्यान्सर, पार्किन्सस र अल्जाईमर बिरामी ३ सय ४९ जनाले १ लाख सम्मको छुट पाएकोमा ३ करोड ४४ लाख ७३ हजार रुपैया जम्मा छुट पाएको अस्पतालले जनाएको छ । सो मेडिकल कलेजमा उपचार गराएका मध्ये ६१ प्रतिशत चितवन जिल्लाकै बिरामी छन् । १५ प्रतिशत नवलपरासी, मकवानपुर,गोरखा,तनहुँ र लमजुङका रहेका छन् ।

पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डाक्टर हरिशचन्द्र न्यौपानेले जस्तो सुकै रोगको उपचार गर्न अस्पताल सक्षम रहेको बताए । ‘काठमाडौँ भन्दा चितवन उपचारमा अगाडी छ । भारतको मेदान्त अस्पतालमा दिईने सेवा हाम्रो मेडिकल कलेजले समेत दिन्छ’, न्यौपानेले भने ।

यहाँका डाक्टरलाई गाली गर्ने तर बिरामी विदेश  लैजाने चलन रहेको भन्दै अध्यक्ष न्यौपानेले यसका लागि सचेतना जरुरी रहेको बताए । मेदान्त अस्पतालमा रहेको जस्तो मेसिन आफ्नै अस्पतालमा समेत रहेको दावी गर्दै उनले यहाँका अस्पतालका विषयमा भ्रम फैलाउने काम भएको उनले स्पष्ट पारे ।

मेडिकल कलेजले सामान्य सेवा बाहेक अति विशिष्ट सेवाहरुमा पल्मोनोलोजी क्रिटिकल केयर तथा स्लीप मेडिसिन, कार्डियोलोजी, न्युरो सर्जरी, ग्यास्ट्रोइन्टेरोलोजी, युरोलोजी, हेपाटोवेलियरी तथा प्यान्क्रियाटिक, मधुमेह इन्डोक्रायनोलोजी, हेपाटोलोजी, तथा लिभर प्रत्यारोपण, बाल सघन पेडियाट्रिक्स इन्टेन्सीभिष्ट रहेको कलेजका निर्देशक लम्सालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =