ट्रम्पले गरे कोरोनाको उपचारमा अप्रमाणित औषधिको पुनः बचाउ

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको प्रयोगको फेरि बचाउ गरेका छन् ।

ट्रम्पको अभिव्यक्ति उनकै स्वास्थ्य अधिकारीको भनाइसँग मिल्दो छैन । कोभिड-१९ विरुद्धको उपचारमा औलो विरुद्धको यो औषधिको प्रयोग अस्वीकार गर्नुको एउटै कारण त्यो आफूले सुझाउनु रहेको ट्रम्पको दाबी छ ।

एक दिनअघि हाइड्रोक्सीक्लोरोक्वाईनको प्रशंसा गर्दै ट्रम्पका जेठा छोराले पोस्ट गरेको एउटा क्लिपमाथि सामाजिक सञ्जाल ट्विटरले प्रतिबन्ध लगाइदिएको थियो ।

उक्त औषधिले कोरोनाभाइरसविरुद्ध लड्न सक्छ भन्ने कुराको कुनै प्रमाण छैन । साथै विज्ञहरूले हाइड्रोक्सीक्लोरोक्वाईनले मुटुमा असर पार्न सक्ने भन्दै सचेत गराएका छन् । गत महिनामात्रै अमेरिकी खाद्य तथा औषधिसम्बन्धी निकाय एफडीएले कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको प्रयोगबारे सचेत गराएको थियो ।

उक्त औषधिले मुटुको ढुकढुकीमा गम्भीर समस्या निम्त्याएको र अरू स्वास्थ्य समस्या पनि देखिएको भन्दै रिपोर्ट आएपछि त्यसको प्रयोगबारे सचेत गराएको एफडीएले जनाएको थियो । विश्व स्वास्थ्य सङ्गठनले पनि हाइड्रोक्सीक्लोरोक्वाईन कोरोनाभाइरसको उपचारमा प्रभावकारी हुने वा त्यसबाट बचाउने भन्ने कुराको हालसम्म कुनै प्रमाण नरहेको जनाएको छ ।

गत मार्चमा ट्रम्पले पहिलो पटक हाइड्रोक्सीक्लोरोक्वाईनको प्रशंसा गरेका थिए । पछिल्लो पटक मङ्गलवार ह्वाइट हाउसमा उनले भने, “जब म कुनै कुरा सिफारिस गर्छु तब उनीहरू ‘त्यसलाई प्रयोग नगर्नू’ भन्न रुचाउँछन् ।”

गत मे महिनामा डब्ल्यूएचओले सुरक्षाका कारण कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको परीक्षण गर्न रोकिएको जनाएको थियो । सावधानीका लागि भन्दै थुप्रै देशमा भइरहेको परीक्षण अस्थायी रूपमा रोकिएको उसको भनाइ थियो ।

अमेरिकामा हालसम्म कोरोनाभाइरसबाट ४३ लाख व्यक्ति सङ्क्रमित भएका छन् भने १,४९,००० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *