बकुलहर अस्पतालमा पहिलो पटक पित्तथैलीको शल्यक्रिया

चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा पहिलो पटक पित्तथैलीको शल्यक्रिया गरिएको छ।
३५ वर्षीया एक चेपाङ महिलाको सफल शल्यक्रिया गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले जानकारी दिए । सर्जन डा. दीपेन्द्र मल्लिक, डा. महेश पौडेल, डा. प्रदीप अधिकारी लगायतको टिमले अपरेसन गरेको डा. बगालेले जानकारी दिए ।
अहिले बिरामीको अवस्था सामान्य छ । ‘हामीले पहिलो पटक पित्त थैलीको अप्रेशन गरेका छौँ, शल्यक्रिया कक्ष र पोष्टअप पहिल्यै तयार थिए,’ मेसु डा. बगालेले भने, ‘अब यसलाई निरन्तरता दिन्छौँ, हामी समक्ष छौँ भनेर प्रमाणित गरेका छाैँ ।’
पेट दुख्यो भनेर सुरुमा भरतपुर अस्पतालमा पुगेकी ती महिलाको कोरोनाको कारण देखाउँदै शल्यक्रिया पछाडि सारिएको थियो । बकुलहर अस्पतालका मेसु डा. बगालेले अब पूर्वी चितवनका जनतालाई सामान्य उपचारका लागि भरतपुर जानैपर्ने बाध्यता अन्त्य गरिने बताए । रत्ननगर बकुलहर अस्पताललाई हालै प्रदेश सरकारले आफू मातहत राखेको घोषणा गरेको थियो । बकुलहर अस्पताल हाल १५ बेडको छ ।








