नेपाल रेडक्रस सोसाइटीद्वारा सुरक्षा सामग्री र उपकरण हस्तान्तरण

काठमाडाैं । कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सुरक्षा अभिबृद्धिको लागि विभिन्न अस्पतालहरूलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरण अभियान नेपाल रेडक्रस सोसाइटीले आजदेखि सुरू गरेको छ । हस्तान्तरण गरिने सामग्रीहरूको कूल मूल्य १ करोड ५७ लाख सात ७ सय ७० रहेको छ ।
काठमाडौँको शुक्रराज ट्रपिकल अस्पताललगायत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरूमा उपकरणहरू र कार्यरत स्वास्थ्यकर्मीहरूको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू वितरण गरिने छ ।
नेपाल रेडक्रस र कोकाकोलाको साझेदारीमा सञ्चालन गरिएको सामग्री बितरण अभियान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा सुरूआत गरिएको थियाे । नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले पहिलो चरणको सामग्रीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे । प्राप्त मास्क, रबर बुट, स्यानिटाइजर, साबुनलगायतका व्यक्तिगत सुरक्षा सामग्री मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई सोही कार्यक्रममा हस्तान्तरण गरेका थिए ।

दुई चरणमा हस्तान्तरण हुने सामग्रीहरूमा १५ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स १ हजार १ सय ५० थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा ३०० वटा, बीस हजार जोडी पञ्जा, ४४० थान रबर बुट, स्यानिटाइजर २५०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड दुई हजार दुई सय लिटर र १५ हजार एक सय अठार थान साबुन रहेको नेपाल रेडक्रस स्वास्थ्य विभागका निर्देशक बिपुल न्यौपानेले जानकारी दिए ।
यस्तै विभिन्न प्रदेशमा ७ थान भेन्टिलेटर मेशिन पनि उपलव्ध गराइने छ । सामग्री वितरण समारोहमा मन्त्री ढकालले कोभिडको महामारीको चालु लडाँईमा सहयोग गर्न सामग्रीसहित उपस्थित भएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोकाकोलालाई धन्यबाद दिए । यो अफ्ठेरो परिस्थितिमा सबैको सहयोग चाहिन्छ र प्राप्त सबै सामग्रीहरूको एक एक हिसाब राखिने छ र उचित वितरण गरिने छ । सुरक्षा सामग्री नपुगेको स्थानमा नेपाल सरकारले तत्काल सामान पठाउने छ ।
सामग्री लिँदै शुक्रराज अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले यो सामग्रीले डाक्टर, नर्सलगायत अग्रपङ्तिमा रहने स्वास्थ्यकर्मीको हौसला बढाएको बताए । यसका अलावा साझेदारीअन्तर्गत नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका ४०० प्राविधिकहरू र स्वास्थ्य कर्मचारीहरू, २४७ एम्बुलेन्स चालकहरू पनि यो साझेदारीबाट लाभान्वित हुनेछन् ।
“नेपाल रेडक्रस र दी कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको संरक्षण गर्ने एउटा प्रयास हो ।” नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले बताए।
उपकरणहरूसँगै प्रयोग विधिहरू सम्बन्धित प्रशिक्षणहरू साथसाथै उपलव्ध गराइने छ । यस क्रममा बन्दाबन्दीको नियमको पालना र भौतिक दूरी कायम गरिने नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । आजै अपरान्ह नेपाल रेडक्रसले नेपाल मेडिकल एशोसियसनलाई चिकित्सकहरूको लागि सुरक्षा सामग्री वितरण गरेकाे छ ।

मुलुक र नागरिकहरूलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मी र आपत्कालीन स्वयंसेवकहरूलाई अत्यावश्यक व्यक्तिगत उपकरणहरू र विभिन्न स्वास्थ्य निकायहरूलाई आवश्यक स्वास्थ्य उपकरणहरू उपलव्ध गराउन नेपाल रेडक्रसलगायत साझेदारसँग सहकार्य गर्न पाउँदा खुशी लागेको दी कोकाकोला फाउण्डेशनका क्षेत्रीय व्यवस्थापक हरि शर्मा न्यौपानेले भनेका छन् ।
यस्तै सिंगापुर रेडक्रसको तर्फबाट प्राप्त छुट्टै ३५०० थान एन नाइन्टीफाइभ माक्स पनि आजै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा नेपाल रेडक्रसका अध्यक्ष थापा, महामन्त्री हरिप्रसाद न्यौपाने, प्रारम्भ नेपाल र आनि छोइङ डोल्मा फाउण्डेशनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।









