सलहको गतिविधिमा निगरानी राख्दै कृषि मन्त्रालय, किसानलाई नआत्तिन आग्रह

काठमाडौं । सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँगको समन्वयमा सलहको गतिविधिमा निगरानी राख्ने भएको छ । कृषि मन्त्रालयमा आइतबार विज्ञहरुसँगको छलफलपछि कृषिमन्त्री घनश्याम भुसालले यो जानकारी दिएका हुन् ।

सलहको सो बथान नेपाल आउँछ कि आउँदैन भनेर भारतको कृषि मन्त्रालयका अधिकारीहरु र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीहरुसँग समन्वय गरेर ट्र्याकिङ गरिने मन्त्री भुसालको भनाइ छ ।

हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपुर्याएको भन्दै कृषि मन्त्रालयले किसानहरुलाई नआत्तिन भनेको छ । त्यस्तै मन्त्रालयले सलह किरा कुन–कुन स्थानमा देखिएको छ भनेर किसानहरुबाट जानकारी लिन हटलाइनको व्यवस्था गर्ने बताइएको छ । एउटा टेलिफोन नम्बर मन्त्रालयले व्यवस्था गर्नेछ । त्यसमा फोन गरेर किसानहरुले सलह किराबारे जानकारी दिन सक्नेछन् ।

सलह नियन्त्रणको बजेट व्यवस्था गर्ने जिम्मा पाएका मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीका अनुसार नेपालमा भारतबाट सानो समुहको मात्र सलह किरा तितर वित्तर भएर आएकाले यसले धेरै नोक्सानी नगर्ने अनुुमान गरिएको छ ।

पूर्वबाट पश्चिम र पश्चिमबाट उत्तर जाने हावाले ल्याएको सो किरा बारा, सर्लाही र सिन्धुलीतिर आएको र सो को संख्या बढेको नभइ सोही किरा विभिन्न ठाउँमा पुगेको उनको भनाइ छ ।

अहिले चितवनका केही ठाउँमा पनि सलह देखिन थालिसकेको बताइएको छ । पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो । अबको केही दिनमा हावा पश्चिमतर्फ लाग्ने भएका कारण यो पनि त्यतैतर्फ लाग्न सक्ने पनि अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =