जनस्वास्थ्यको पक्षमा गौमूल गाउँपालिका: चाउचाउमा लगाइयो प्रतिबन्ध

बाजुरा । जिल्लाको गौमूल गाउँपालिकाले जनस्वास्थ्यमा असर परेको भन्दै चाउचाउमा प्रतिबन्ध लगाएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ३२ करोड २९ लाख बराबरको बजेट प्रस्तुत गर्ने क्रममा गाउँपालिका उपाध्यक्ष सीता थापाले चाउचाउ सहितका मसलादार उत्पादन सामग्री बन्द गर्ने निर्णय गरिएको बताइन् । उनका अनुसार बजारका खानेकुराको गाउँमा बिगबिगी बढेपछि अखाद्य वस्तुको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले जनस्वास्थ्यमा असर पार्ने बजारका तयारी खाद्य सामग्री प्रयोगमा रोक लगाउने र चाउचाउलाई गाउँपालिकाका ६ वटै वडामा पूर्ण रुपमा बिक्री बन्द गर्ने निर्णय गरिएको हो ।

गाउँपालिका केन्द्र रहेको घटमुना बजारबाहेक सबै वडामा सो उत्पादन बिक्री बन्द गरिएको उनले जानकारी दिइन् । विद्यालय क्षेत्रबाट तीन सय मिटर आसपास क्षेत्रमा पत्रुखाना बिक्री वितरणमा रोक लगाइने र यसबारे नियमित सचेतना फैलाउने निर्णय गाउँपालिकाले गरेको छ ।

त्यहाँकाे सातौँ गाउँसभाले समानीकरण, संघीय र प्रदेश सरकारको अनुदान, सशर्त र राजस्व बाँडफाँट लगायत शीर्षक समावेश गरिएको रु ३२ करोड २८ लाख, ७६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट शीर्षकमा पनि कृषि उत्पादन, आयआर्जन, युवा रोजगारका विषयलाई प्राथमिकतामा राखेको छ भने घटमुनामा १५ शय्याको अस्पताल निर्माण गर्ने गरी योजना अघि सारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =