बढ्न नसकेको फुच्चे केटो कसरी आधुनिक फुटवलको ‘एलियन’ भयो ?

काठमाडौं । अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोना फुटवल क्लबका कप्तान लियोनल मेसी (जसलाइ आधुनिक फुटवलका एलियन पनि भनिन्छ)  ३३ वर्षमा प्रवेश गरेका छन् । ३३ वर्षअघि आजकै दिन अर्जेन्टिनाको रोजारीयोमा मेसीको जन्म भएको थियो ।

मध्यम वर्ग तथा सामान्य कदको बालक मेसीले फुटवलमा सबथोक प्राप्त गरे सिवाय विश्वकप फुटवलको उपाधि । क्लब फुटवल र ब्यक्तिगत जिवनमा मेसीले पाउन केही बाँकी छैन । तथापि, उनको करीयरमा खड्किइरहने विषय हो विश्वकपको ट्रफी ।

लियाेनल मेसी, बालाेन डिओरका साथ

स्टिल फ्याक्ट्रिमा काम गर्ने बुबा र चुम्बक उद्योगकी कामदार आमाबाट जन्मिएका मेसी वर्तमान फुटबलका सर्वोत्कृष्ट फुटबलर हुन् । स्पेनिस लालिगा, युरोपियन च्याम्पियन्स लिग, कोपा डेल रे मा मेसीले यस्ता कयौं दुर्लभ रेकर्ड राखेका छन् जसलाई कुनै खेलाडीले तोड्न सक्ने अवस्था आएको छैन ।

विश्व फुटवलमा महान खेलाडी पेले र म्यारोडोना पछि सायदै मेसीको नाम लिइन्छ । तर, पेले र म्याराडोनाले विश्वकप जिते मेसीले फुटवल करियरको उत्तरार्धमा आइपुग्दा पनि विश्वकप जित्न सकेका छैनन् । यसमा मेसीलाई भन्दा पनि उनको भाग्यलाई दोष दिइन्छ ।

हरेक गोल हजुरआमा प्रति समर्पित

मेसी सानैदेखि फुटबल खेल्थे । उनले चार वर्षको उमेरमा स्थानीय क्लब ग्रान्डोलीमा बाबुको प्रशिक्षणमा फुटबल खेल्न सुरु गरेका थिए । तर, उनलाई फुटबल खेल्ने प्रेरणा भने हजुरआमा सेलियाले दिइन् । फुटवल ट्रेनिङमा जाँदा होस् वा खेल्न जाँदा उनलाई जहिले हजुरआमाले नै लाने गर्थिन् ।

११ वर्ष पुग्न केही दिन मात्र बाँकी हुँदा हजुरआमाको मृत्युपछि मेसी धेरै विक्षिप्त भए । एकोहोरिए । तर, त्यसपछि फुटवल ग्राउण्डमा उनले गरेको हरेक गोल आफ्नी हजुरआमाप्रति समर्पित गरे । हरेक पल्ट गोल गरेपछि मेसीले दुवै हातका चोरऔंला माथि उठाउँदै आकाशतर्फ हेर्दै हजुरआमालाई सम्झने मेसीको बानी छ ।

‘ग्रोथ हर्मोन डिफिसिएन्सी’ ले नबढेको हाइट

मेसीलाई १० वर्षको उमेरमा ‘ग्रोथ हर्मोन डिफिसिएन्सी’ नामको रोग देखा पर्यो । यो रोग लागेपछि शरीरका मांशपेशी र हड्डी बढ्दैनन् । यसको उपचार एकदमै महँगो हुन्थ्यो । लाखौं रुपैयाको औषधी पचार गर्ने क्षमता मेसीको परिवारसँग थिएन । उनका बाबुको बीमा रकम आउँथ्यो त्यसले जेनतेन मेसीको उपचार चल्यो । मेसीमा रहेको प्रतिभा देखेर उनले त्यत्ति बेला खेल्ने गरेको फुटवल क्लब न्यूवेल्सले शुरुमा केही सहयोग गर्ने प्रतिबद्धता देखाएपनि उपचारमा लाग्ने खर्च सुनेर पन्छियो ।

यता स्पेनको क्याटालोनियामा मेसीका आफन्त बस्थे । उनीहरुले सेप्टेम्बर सन् २००० मा क्याटालोनियाको सबैभन्दा ठूलो क्लब बार्सीलोनामा मेसीको ट्रायल दिने व्यवस्था मिलाइदिए । मेसीको महंगो उपचारको बार्सीलोना नै अन्तिम विकल्प थियो । मेसी त्यतिबेला जम्मा १३ वर्षका थिए ।

बार्सिलोनासँगको सम्झौता न्याप्किन पेपरमा

त्यसबेला युरोपमा त्यति सानो उमेरको विदेशी खेलाडी आबद्ध गर्नु अस्वभाविक थियो । त्यसैले बार्सीलोनाको सञ्चालक समितिले ठोस निर्णय दिन सकेन तर बार्सीलोनाको सिनियर टिमका निर्देशक चार्ली रेक्साचले मेसीमा रहेको प्रतिभा पहिचान गरेका थिए । उनले मेसीलाई क्लबमा भित्र्याई छाड्ने अठोट लिए । र, १४ डिसेम्बरमा बार्सीलोनामा आबद्ध गराए । मेसीलाई बार्सिलोनाले क्लबमा आबद्ध गराउँदा रेक्साचले होटलको न्याप्किन पेपरमा पहिलो कन्ट्रयाक्ट गरेका थिए ।

८ वर्षकाे उमेरमा मेसी ।

न्यूवेल्ससँगको सम्झौता सकिएको नसकिँदै बार्सीलोनामा आएका साना मेसीले लगभग एक वर्ष फुटबल खेल्न पाएनन् । अन्तर्मुखी स्वभावका मेसी फुटबल खेल्न नपाएर निराश थिए । क्लबमा पनि उनलाई सबैले लाटो सोच्थे । मेसी पनि कसैसँग बोल्दैनथे । अहिले पनि उनी कमै बोल्छन् ।
१४ वर्षको उमेरमा उनको रोगको उपचार सकियो । उनको रोग ‘ग्रोथ हर्मोन डिफिसिएन्सी’को एकमात्र उपचार ‘ग्रोथ हर्मोन रिप्लेसमेन्ट’ सफल भयो । तर, सुरुमै उपचार हुन नसक्दा मेसीको उचाई नबढ्दा उनी युरोप र अमेरिकाका खेलाडीको औसत उचाइभन्दा होचा छन् । तर, यसले उनको फुटबल खेल्ने क्षमता र कौशलतामा केही फरक पार्न सकेन । उनमा असाधारण ड्रिवलिङ क्षमता छ । उनकाे खुट्टामा बल परेपछि विपक्षिकाे पसिना छुट्छ ।

२००१ मेसी युगको शुरुवात

२००१ मा रोजारियोबाट सपरिवार बार्सीलोनाको मैदान ‘क्याम्प नोउ’ नजिकै अपार्टमेन्टमा आएका मेसी बार्सिलोनाको युथ एकेडेमी ला मासियामा भर्ना भएको एक वर्षपछि २००२ मा बल्ल स्पेनको रोयल स्पेनिस फुटबल फेडेरेसनमा आबद्ध भए । त्यसपछि भने उनले सबै प्रकारका फुटवल खेल्न पाउने अनुमति पाए । त्यसपछि मात्रै बार्सिलोनाको फुटबल इतिहासमा नयाँ अध्याय आरम्भ भयो र मेसी युग शुरु भयो ।

मेसी बार्सिलोनाको युथ फुटबलको सबैभन्दा सफल टिम ‘बेबी ड्रिम टिम’का मुख्य खेलाडी थिए । जहाँ जेरार्ड पिके र सेस फाब्रिगास पनि थिए । उनीहरु मेसीका मिल्ने साथी बने । बार्सिलोनाको ‘क्याडेट–ए’ टिमका लागि पहिलो पूरा सिजन खेल्दा उनले ३० खेलमा ३६ गोल गर्दै इतिहासमै पहिलो पटक बार्सीलोनालाई ट्रेबल (स्पेनिस लिग, स्पेनिस कप र क्याटलान कप) जिताएर नयाँ रेकर्ड कायम गरे ।

नकावधारी मेसी

सिजनको अन्त्यतिर चिउँडोमा चोट लागेपछि मेसीले एक हप्ता आराम गरे । ‘कोपा क्याटालुन्या’को फाइनलमा चोटका कारण अनुहारमा प्लास्टिकको मास्क लगाएर खेलेका मेसीलाई असहज भएपछि मास्क फालेर बल अगाडि बढाए । जहाँ उनले १० मिनेटमा २ गोल गरेर बार्सीलोनाको ४–१ को जितको मार्गचित्र कोरिदिए ।

इस्प्यान्योलविरुद्धको त्यो फाइनल बार्सिलोनामा अहिले पनि ‘पार्टिडो डे ला मास्कारा’ अर्थात ‘नकावधारीको पार्टी’को नामले चर्चित छ । सिजनको अन्त्यसँगै उनलाई आर्सनलबाट प्रस्ताव आयो तर, फेब्रिगासले इंग्लिस क्लबमा जाने निर्णय गरिसकेका कारण उनले बार्सिलोना नछाड्ने निर्णय गरे ।

२००३–०४ को सिजन मेसी युथ टिमबाट बार्सिलोनाकै माथिल्लो स्तरका टिममा उक्लँदै थिए । उनले एकै सिजनमा पाँच फरक समूहका टिमबाट डेब्यू गर्ने रेकर्ड पनि राखे । बार्सिलोनाको सिनियर टिम त्यतिबेला धर्मराएको थियो । इन्टरनेशनल ब्रेकका दौरान बार्सिलोनाले युथ टिमबाट मेसीसहित केही खेलाडीको टिमलाई परीक्षणका लागि अभ्यास खेलमा बोलायो । उक्त अभ्यास खेलमा सिनियर टिमका खेलाडीलाई नै मेसीलाई रोक्न हम्मेहम्मे पर्यो ।

‘एलियन’को उपनाम

एउटा बच्चोले आफुलाई मुसो खेलाएपछि सिनियर खेलाडीले उनीविरुद्ध धेरै ट्याकल र फाउल गरेर लडाए । तर, हरेकपल्ट उनी हिम्मत नहारी उठ्थे र लडाउन आइरहेका बार्सीलोनाका ४–५ जना हस्ती खेलाडीलाई छलाएर बल अगाडी बढाउँथे । सेन्टरब्याकहरु समेत उनको खुट्टामा बल पर्नासाथ नर्भस हुन थालिसकेका थिए । उनको त्यो खेल हेर्ने सबैले उनलाई त्यसबेला ‘एलियन’को उपनाम दिए । त्योदिन उनको खेल हेर्ने धेरैजनामध्ये एक थिए, रोेनाल्डिन्हो । खेलपछि रोनाल्डिन्होले आफ्ना समकक्षी खेलाडिलाई मेसी फुटबलमा धेरैमाथि पुग्ने बताएका थिए । र, छिट्टै रोनाल्डिन्हो र मेसीको मित्रता भयो ।

उनी मेसीलाई ‘सानो भाई’ (लिटल ब्रदर)’ भन्थे । जुन आज पर्यन्त छ । केही समय अघि रोनाल्डिन्हो नक्कली पासपोर्टको आरोपमा जेल पर्दा मेसीले सहयोग गरेका थिए ।

१६ वर्षमा ६९९ गोल

१६ वर्ष चार महिना २३ दिनको उमेरमा मेसीले जोसे माउरिन्होको टिम पोर्टोविरुद्धको मैत्रीपूर्ण खेलमा ७५औं मिनेटमा सब्स्टिच्यूटका रुपमा बार्सिलोनाको सिनियर टिमका लागि डेब्यू गरेका मेसीले त्यसपछि सफलताका धेरै सिंढीहरु चढे । क्लबका लागि प्राप्त गर्ने कुनै उपाधी बाँकी राखेनन् ।

मेसीले ६ पल्ट बालोड डिओर प्राप्त गरेका छन् । ६ पल्ट नै युरोपियन गोल्डेन वुट प्राप्त गरेका छन् । भने, फिफा वल्र्डकप गोल्डेन बल लगायत दर्जनौ उपाधि प्राप्त गरेको छन् । उनले आफ्नो फुटवल करियरमा देश र क्लबका लागि अहिलेसम्म ६९९ गोल गरेका छन् ।

रोनाल्डोसँगको प्रतिष्पर्धा 

पोर्चुगलका क्रिष्टियानो रोनाल्डोसँग मेसीको प्रतिष्पर्धा छ । रोनाल्डो स्पेनको रियल मड्रिडमा रहँदा बार्सिलोना र रियलको खेलमा मेसी र रोनाल्डोको प्रतिष्पर्धा रोचक हुन्थ्यो । रोनाल्डोले मेसीलाई समकालिन फुटवलमा टक्कर दिएका छन् । दुवैले अहिलेसम्म सबै प्रकारका उपाधि हासिल गरेपनि विश्वकप हासिल गर्न सकेका छैनन् ।

शान्त प्रकारका मेसी र उग्र स्वभावका रोनाल्डोको खेल कौशल शताब्दीकै अन्य खेलाडीमा नभएको चर्चा गरिन्छ । रोनाल्डोले रियल मड्रिड छाडेर इटालीको युभेन्टस गएपछि यी दुईको भेट कमै भएको छ ।

अभागी मेसी

लियोनल मेसीलाई अभागी खेलाडी पनि भन्दछन् । फुटवलमा शताब्दीकै सर्वोत्कृष्ठ मेसीले आफ्नो देश अर्जेन्टिनाका लागि भने उपाधि हासिल गर्न सकेका छैनन् ।

अर्जेन्टिनालाई एक पल्ट विश्वकप फुटवल र दुई पल्ट कोपा अमेरिकाको फाइनलमा पुर्याउन सफल मेसीले विश्वकप ट्रफी र कोपा अमेरिकाको ट्रफी भने उचाल्न नपाउँदा अर्जेन्टिनामा उनको आलोचना हुने गर्दछ । त्यसो त उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता हुन् । उनले अहिलेसम्म देशका लागि ८६ गोल गरेका छन् । मेसीले देशका लागि समर ओलम्पिक २००८ मा गोल्ड मेडल जिताएका थिए ।

मेसी युग कहिले सम्म ?

प्रश्नहरु उठिरहेका छन् । तर, उत्तर कसैले दिइरहेका छैनन् । मेसी अहिले ३३ औं वर्षमा प्रवेश गरेपनि उनको खेल कौशल अझै १६ वर्षे ठिटोको जस्तै छ । मेसी बार्सिलोनाको जर्सीमा मैदानमा उत्रिएसँगै विपक्षीका डिफेन्डरको टाउको दुखाई हुन्छ । जारी ला लिगामा मेसी सर्वाधिक गोलकर्ता हुन् । उनले यो सिजन ला लिगामा २१ गोल गरिसकेका छन् ।

बार्सिलोना र अर्जेन्टिनामा मेसीको स्थान लिने खेलाडी अहिलेसम्म नभएको बताइन्छ । अहिले ३३ वर्षको उमेरमा पनि फुटवल मैदानमा जमिरहेका मेसी अझै ५ वर्ष खेल्न सक्ने अनुमान गरीन्छ ।

मेसीले पनि आउँदो विश्वकपसम्म आफ्नो करियर सुरक्षित रहेको र विश्वकप जितेपछि मात्र विश्राम लिने बताइरहेका छन् । यो कुरा चैं पक्का हो फुटवलबाट मेसीले विश्राम लिएको दिन विश्वकै फुटवल शान्त भएको हुनेछ । विश्वभरका अरबाैं फुटवल प्रेमी एकपटक निराश हुनेछन् । कराेडाैंका घरमा टिभीहरू बन्द हुन्छन् । किनभने, मेसी भनेका आधुनिक फुटवल युगका एलियन हुन । एलियन एउटा युगमा एकपल्ट देखापर्छ बारम्बार हैन । सन् १९७०–८० मा पेले एलियन थिए । त्यसपछि म्यारोडोना आए । र, अहिले मेसी छन् ।
एजेन्सीको सहयोगमा, तस्विरहरू, गुगलबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *