प्रधानमन्त्रीका निजी चिकित्सकलाई आइओएमको डीन बनाएको प्रति डा. केसीको चर्को असन्तुष्टी

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सक अध्ययन संस्थान (आइओएम) मा प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठता मिचेर आफ्नै चिकित्सक प्रा.डा. दिब्या सिंहलाई डीन नियुक्त गरेपछि प्रा.डा. गोविन्द केसीले चर्को असन्तुष्टी जनाएका छन् ।

सूदुरपश्चिम नेपालमा रहेका डा. केसीले बरिष्ठताका आधारमा आइओएममा पदाधिकारी नियुक्ति गर्नुपर्छ भनेर आफुले १२ वर्षदेखि गर्दै आएको आन्दोलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लत्याएको जिकिर गरेका छन् ।

हेल्थ आवाजसँगको टेलिफोन कुराकानीमा चिकित्सा शिक्षा सुधार अभियानका नेतृत्वकर्ता डा. केसीले मापदण्ड मिचेर पदाधिकारी चयन गर्दा संस्था धरासायी हुने समेत बताएका छन् । ‘उपकुलपति, रेक्टर, रजिष्ट्रार, डिन, निर्देशक, क्याम्पस प्रमुख लगायतको मापदण्ड बनाउनुपर्छ भन्ने सत्याग्रहको एउटा माग थियो ।’ डा. केसीले भनेका छन्–‘पार्टीका कार्यकर्ता वा आफ्ना मान्छे पदाधिकारी बनाउँदा उनीहरुले संस्थाको दोहन गरेर धरासायी बनाएका थिए । त्यस्तो नहोस भनेर वरिष्ठताको आधार एउटा मापदण्ड हुन्छ हामीले भनेको हो ।’

उनले तेस्रो पटकको सत्याग्रहमा मापदण्ड बनाउने समिति बनाएर विश्वविद्यालयका पदाधिकारीको मापदण्ड बनेको बताउँदै यसपटक पनि त्यही मापदण्ड अनुसार विश्वविद्यालयको उपकुलपति बनाउनुपर्छ भन्दा पनि प्रधानमन्त्रीले नमानेको बताएका छन् ।

उनले प्रधानमन्त्रीमा राजामहाराजाको जस्तो घमण्ड बढेको जिकिर गरेका छन् । ‘ओलीजीले आफूलाई महाराजा सम्झेका छन् । राजा पनि होइन, महाराजा नै सम्झन्छन्, हामी सबै रैती । उनले जे भन्यो त्यही हुनुपर्छ भन्ने छ । उनले जनताको हकहितभन्दा पनि आफ्नो दम्भका आधारमा पार्टीको कार्यकर्तालाई नियुक्ति दिइरहेका छन् ।’ डा. केसीले भनेका छन् ।

प्रधानमन्त्रीले आइओएमलाई कार्यकर्ता भर्ति गर्ने ठाउँ बनाएको जिकिर गरेका छन् । ‘यत्रो समयसम्म आन्दोलन गरियो । बरिष्ठताका आधारमा हुनुपर्छ भनिइरहेकै छ । १२ वर्षदेखि मैले त्यही कुरा भनिरहेको छु । केही समयदेखि वरिष्ठताको आधारमा नियुक्ति भइरहेको थियो । अहिले आएर ओलीजीले म राजा हुँ, महाराजा हुँ मेरो मान्छे हुनुपर्छ भन्ने भाव देखाए ।’

डा. केसीले व्यक्ति विशेष रुचि होइन कि पालो मिचेर आउने, मान्यता मिचेर आउने गलत कुरा भएको बताएका छन् । साथै उनले पालो र मान्यता मिचेर डिन बनेका ‘महाराजाका’ कार्यकर्तालाई स्वीकार नगर्ने चेतावनी दिएका छन् । ‘मलाई स्वीकार्य छैन । अब अस्पतालको डाइरेक्टर पनि कुन कार्यकर्ता भर्ने हुन । सरकारी शिक्षा र स्वास्थ्यलाई ओलीजीका कार्यकर्ता र अन्य दलका कार्यकर्ताले व्यापार गरेर खाने भाडो बनाएका छन् ।’ डा. केसीको तर्क छ ।

उनले प्रधानमन्त्रीलाई महाभ्रष्टको संज्ञा दिएका छन् । ‘एकातिर सरकारी शिक्षण संस्था, स्वास्थ्य संस्थाहरुलाई आफ्ना कार्यकर्ताहरु भर्ति गरेर दोहन गरी धरासायी बनाउने अर्कोतिर माफियालाई सहयोग गर्ने महाभ्रष्ट हुन् । यो सरकारले आफै भ्रष्टाचारीको संरक्षण गरिरहेको छ । मलाई यो चाहिँ स्वीकार्य छैन ।’ उनले प्रधानमन्त्री नसच्चिए भोलीका दिनमा के गर्नुपर्ने हो गरौंला समेत भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *