भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भने,- ‘नेपाल भारतबिचका सबै विषय वार्ताबाट समाधान हुनेछन्’

नयाँ दिल्ली । नेपालसँगका सबै समस्याको दुई मुलुकबिचको छलफलबाट समाधान खोजिने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार बताएका छन् ।

छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभई ‘धार्मिक’ पनि भएको उनले बताए ।

सीमा सडक सङ्गठन (बोर्डर रोड्स अर्गनाईजेसन) द्वारा ‘कैलाश मानसरोवर यात्राको सुविधाका लागि निर्माण गरिएको सडकलाई लिएर लिपुलेकसम्मको सडकबारे दुई मुलुकबिचको बुझाइमा भिन्नता आएपछि’ सिंहको यो भनाइ आएको हो । यो सडक मानसरोवरसम्म जानका लागि बनाइएको ८० किलोमिटर नयाँ मार्ग ‘भारतीय क्षेत्र’मा रहेको दाबी सिंहले उत्तराखण्ड जनसम्वाद र्‍यालीलाई भिडियो सम्मेलनमार्फत सम्बोधन गर्ने क्रममा बताएका हुन् ।

उनले भने, “नेपालमा यसबारे बुझाइमा केही गलत धारणा आएका छन् । यसलाई हामीले वार्ताका माध्यमबाट समाधान गर्नेछौँ ।”

उनले थपे, “नेपालले चासो व्यक्त गरेजस्तो हामीबिच सामाजिक, भौगोलिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभई हामीबिच धार्मिक सम्बन्ध पनि रहेको छ । भारतले यसलाई कहिल्यै विर्सन सक्दैन ।”

दुई मुलुकबिच ‘रोटी–बेटी’ को सम्बन्ध रहेको र यसलाई ‘विश्वका कुनै शक्ति’ले तोड्न नसक्ने भारतीय रक्षा मन्त्रीको दाबी रहेको छ ।

केही दिन पहिले नेपालको प्रतिनिधि सभाले सर्वसम्मत रूपमा पारित गरेको नेपालको नयाँ नक्सालाई मान्यता दिन संविधानको संशोधन गर्ने निर्णयलाई आइतबार राष्ट्रिय सभाले (संसद्को माथिल्लो सदन) ले अनुमोदन गरेको थियो । नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको छ ।

उक्त अवसरमा सिंहले भारतीय जनता पार्टी नेतृत्वको उत्तराखण्ड राज्य सरकारले विगत तीन वर्षमा गरेका कामको प्रशंसा गर्दै उत्तराखण्डमा राजपाले गरेका सबै वाचालाई यसै कार्यकालको अन्त्यसम्ममा पूरा गर्ने प्रतिबद्धता जाहेर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =