पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइएका १७ जनामा कोरोना पुष्टि

काठमाडौं । पीसीआर परीक्षणको रिपोर्ट नआउँदै दाङको घोराहीस्थित दुई क्वारेन्टाइनबाट घर पठाइएका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा क्वारेन्टिनमा बसेका १३ र आधारभूत विद्यायलय क्वाडीमा बसेका ४ जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबै जेठ पहिलो साता भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । जेठ २१ गते पीसिआर परीक्षणका लागि स्वाब संकलन गरिएपछि उनीहरुलाई २८ गते होम क्वारेन्टाइनमा सुरक्षित रहन सुझाव दिँदै नगरपालिकाले घर पठाएको थियो ।
स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार कुनै लक्षण नदेखिएका कारण घर पठाइएको बताइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा आइतबार रिपोर्ट पोजेटिभ आएको हो । अहिले उनीहरुलाई आइसोलेसनमा लगिएको जानकारी दिइएको छ ।
यसैको विरोधमा सोमबार घोराही १७ चौघेराका सर्वसाधारणले वडा कार्यालय घेराउ गरेका छन् । जनप्रतिनिधिको लापरबाहीले रिपोर्ट नआउँदै क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।








