काेराेना संक्रमणबाट थप एककाे मृत्युः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
प्रवक्ता डा. गौतमका अनुसार वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका उनको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको हो । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा हिजाे रिपोर्ट पोजेटिभ आएको हाे ।
योसँगै अर्घाखाँचीमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या २ पुगेकाे छ भने देशभर १६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।








