दैलेखमा २१ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या २८ पुग्यो

काठमाडौं । दैलेखमा २१ जना कोरोना भाइरस (कोभिड १९) संक्रमितहरु डिस्चार्ज भएका छन् । जिल्ला सदरमुकामस्थित सरस्वती मावी तर्ताङ्गमा निर्माण गरिएको दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत २१ जना शुक्रबार डिस्चार्ज भएका हुन् ।
आज डिस्चार्ज भएका सबै जिल्लाको नारायण नगरपालिकाका हुन् । उनीहरु भारतबाट आएका थिए । उनीहरुको दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) इन्द्र बहादुर क्षेत्रीले मकालु खबरलाई जानकारी दिए ।
आज डिस्चार्ज हुनेहरुमा नारायण नगरपालिका वडा नम्बर २ का २१ र ४१ वर्षीय पुरुष, वडा नम्बर ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष, वडा नम्बर ४ का २५, २५ र ४० वर्षीय पुरुष रहेको उनले बताए ।
त्यस्तै वडा नम्बर ६ का २७ वर्षीय पुरुष, वडा नम्बर ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नम्बर ९ का २० र ५० वर्षीय पुरुष, वडा नम्बर १० का १७, १७, २० र २३ वर्षीय पुरुष र वडा नम्बर ११ का १८ र २७ वर्षीय पुरुष पनि उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
सहायक प्रजिअ क्षेत्रीका अनुसार अस्पतालमा उपचाररत २२ जना उपचारपछि निको भएका छन् । तर आमाको रिपोर्ट पोजेटिभ देखिएपछि एक निको भएका २० महिने शिशुलाई भने डिस्चार्ज गरिएको छैन । उनी आइसोलेसनमै छन् ।
याेसँगै दैलेखमा काेराेनामुक्त हुनेकाे संख्या २८ पुगेकाे छ ।








