सार्वजनिक यातायात सञ्चालन गर्न यस्तो छ सरकारको तयारी

काठमाडौं। सरकारले सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा व्यवसायीहरूसँग छलफल गरेर निर्णय लिने भएको छ। यातायात व्यवसायीहरूसँग भौतिक दुरी कायम गरेर सार्वजनिक यातायात सुचारु गर्न सकिने/नसकिने विषयमा छलफल गरिने एक मन्त्रीले जानकारी दिए।
सधैँ कोचाकोच गरेर यात्रु राख्ने सार्वजनिक यातायातहरूमा भौतिक दुरी कायम गरेर सुरक्षा सतर्कता अपनाउन वा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न जरुरी रहेको ती मन्त्रीले बताए। उनले भनेका छन्, ‘थोरै यात्रु राखेर चलाउँदा भाडा बढी लिन खोज्लान्। यसको व्यवस्थापन कसरी गर्ने भनेर समेत सरकारले छलफल गर्नुपर्छ।’
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई बिस्तारै खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ। तर सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा भने अन्तिम निर्णय लिन बाँकी रहेको छ। निजी सवारी साधन भने बिहीबारदेखि जोर बिजोर प्रणाली अनुसार चलाउन दिने निर्णय गरेको छ। निजी गाडीमा चालक बाहेक २ जना र मोटरसाइकलमा १ जना मात्र बस्न पाउने छन्।
यस्तै, सरकारले सरकारी कार्यालयहरू दुई सिफ्टमा खोल्ने तयारी गरेको छ। भिडभाड नहुने गरी दुई सिफ्टमा कार्यालय खोल्ने निर्णय भएको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो। ती मन्त्रीका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म एक सिफ्ट र दिउसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट सरकारी कार्यालय खुल्नेछन्।
कोभिड-१९ को महामारीका बेला कार्यालयमा भिडभाड नहुने गरी कार्यालय खोल्ने तयारी रहेको उनको भनाइ छ। ती मन्त्रीले भने, ‘सायद असार १ गतेदेखि यसरी काम हुन्छ होला। विस्तृत रूपमा योजना बने लगत्तै यसको कार्यान्वयन हुन्छ।’








