चीन र पाकिस्तानविरुद्ध गोर्खा सेनाको प्रयोग रोक्न परराष्ट्रलाई बुझाइयो ज्ञापनपत्र

काठमाडौँ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इन्डिया सरकारले गोर्खा सेनालाई छिमेकी मुलुक चीन र मित्र राष्ट्र पाकिस्तान र बङ्गलादेशलगायतका राष्ट्रका विरुद्धमा प्रयोग गर्न नदिन नेपाल सरकारले पहल गर्न माग गर्दै आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

अध्यक्ष फणीन्द्र नेपाल र कोषाध्यक्ष नबिना खड्काले आज परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई बुझाएको ज्ञापन पत्रमा इन्डियाली गोर्खा सेना सम्बन्धी नेपाल, बेलायत र इन्डियाबीच सन् १९४७ नोभेम्बर ९ मा भएको त्रिपक्षीय सन्धि रद्द गर्न र नेपालका छिमेकी तथा मित्रराष्ट्र चीन र पाकिस्तानविरुद्ध गोर्खा सैनिकको प्रयोग रोक्न इन्डिया कूटनीतिक संवाद गर्न माग गरिएको छ ।

ज्ञापन पत्रमा इन्डियाले शत्रु ठानेका राष्ट्रहरू नेपालका मित्र भएका हुँदा ती मित्रराष्ट्रविरुद्ध नेपाली नागरिकहरू सहभागी भएको गोर्खा सैनिक प्रयोग गर्नु गलत हो भन्दै युद्धमा मारिएका गोर्खा सैनिकको लास घरपरिवारलाई जिम्मा नलगाउनु अमानवीय भएको कुरा ज्ञापनपत्रमा उठाइएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली संसद्मा व्यस्त हुनुभएको भनिएकाले परराष्ट्र मन्त्रालय अन्तर्गत इन्डिया हेर्ने विभाग अर्थात् सार्क महाशाखाका प्रमुख सहसचिव यज्ञबहादुर हमाललाई ज्ञापनपत्र बुझाइएको मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले जानकारी दिएका छन् । ज्ञापनपत्रको बोधार्थ चीन, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशका विदेश मामिलासम्बन्धी मन्त्रीलाई पनि दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *