वीपी स्वास्थ्य प्रतिष्ठानः सङ्क्रमित बालिका राखिएको वार्डमा रहेका सबैको रिपोर्ट नेगेटिभ

धरान। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरसबाट सङ्क्रमित बालिका राखिएको वार्डको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। बालिका राखिएको वार्डमा कन्ट्याक्ट ट्रेसिङ गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा करिब ६४ जनाको पीसीआर परीक्षण परीक्षण गरिएको थियो। वार्डमा कार्यरत सुरक्षा गार्ड, चिकित्सक, बिरामी र बिरामीका कुरुवाहरूको पीसीआर परीक्षण गरिएको थियो। बराह क्षेत्र नगरपालिका-७ की ७ वर्षीय बालिकाको खुट्टा भाँचिएर उपचारका लागि प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा भर्ना भएकी थिइन्।
उनको खुट्टाको अप्रेसन गर्नु पहिले कोरोना परीक्षण गर्दा बालिकामा कोरोना सङ्क्रमण देखिएको थियो। उनमा सङ्क्रमण देखिएपछि वार्डको सम्पर्कमा आएका सबैको स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गरिएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएको छ।
स्वास्थ्य प्रोटोकल अनुसार उक्त वार्डमा तीन पटकसम्म डिसइन्फेक्ट गरिसकिएको हाड जोर्नी विभागका प्रमुख डा. पशुपति चौधरीले बताए। हिजो आइतबार पनि थप केहीको थ्रोट स्वाब लिइएकोको छ। उक्त वार्डमा अहिले पुराना बिरामीहरू रहेको र उनीहरू उपचारपछि घर नफर्किएसम्म नयाँ भर्ना नराखिने उनले बताए।








