कोरोना उपचाररत संक्रमितलाई निकाे नहुँदै अस्पतालले गर्‍यो डिस्चार्ज

कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले पूर्ण रुपमा निको नहुँदै आइसोलेसनमा उपचाररत ६ जना कोरोना संक्रमितलाई डिस्चाज गरेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका-१ का २० र २७ वर्षीय पुरुष, वडा नम्बर २ का २० र २२ वर्षीय पुरुष रहेका छन् । लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य भएकालाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि सोही अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हाे ।

उनीहरू भारतबाट जेठ ८ गते कैलालीको गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए । स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार चिकित्सकको सल्लाहमा उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरूलाई अझै दुई सातासम्म घरमा सुरक्षित ढंगबाट बस्न सुझाव दिइएको छ ।

स्वास्थ्य मन्त्रालयकाे नयाँ निर्देशिका अनुसार क्वारेन्टाइन र होल्डिङ सेन्टरमा रहेका व्यक्तिको समेत कोरोना भाइरसको परीक्षण पीसीआर विधिबाट गरिने छैन । क्वारेटाइनमा रहेका व्यक्तिमा कोभिडका लक्षण देखिएकालाई मात्रै आरटी–पीसीआर गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

श्वासप्रश्वास र कोरोना भाइरसका कुनै पनि लक्षण नदेखिएमा त्यतिकै घर पठाउन सकिनेछ । यस्ता व्यक्तिलाई हालका लागि आरडीटी परीक्षण मात्रै गरिने छ । यद्यपी आरडिटी परिक्षणलाई हालसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन।

फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सफाइ कर्मचारीहरूलााई समेत श्वासप्रश्वासमा समस्या भए र लक्षण देखिए आरटी–पीसीआर परीक्षण गर्ने उल्लेख छ । निर्देशिका अनुसार ज्वरो, श्वासप्रश्वासमा समस्या, संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको भएमा मात्र आरटी पीसीआर माध्यमबाट परीक्षण गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =