स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सय दिनः नचाहेर आइलागेको विषयले बाधा पुग्यो

फागुन १८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आफुले मन्त्रालय संहालेको १ सय दिन पुरा हुँदा भने जसरी काम गर्न नसकेको बताएका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ढकालले नियमित भन्दा आकस्मिक काम बढि गर्नुपरेकोले मन्त्रालयले लक्ष्य अनुरुप काम गर्न नसकेपनि असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको बताए ।
उनले डेढ महिनायता विश्वब्यापी भइरहेको कोरोना भाइरसका विरुद्ध लाग्नु परेकोले मन्त्रालयले सोचे अनुरुप काम गर्न नसकेको जिकिर गरे । ‘परिस्थितिले साथ दिएन, नचाहेर आइलागेको विषयले हाम्रो कार्य योजना नै विथोलिदियो ।’ मन्त्री ढकालले भने ।
तथापि, मन्त्रालयले सय दिनमा केहि विषयमा भने अभूतपूर्व उपलब्धी हासिल गरेको मन्त्री ढकालको दावि छ । उनले झण्डै सात हजार स्वास्थ्य कर्मचारी समायोजनको समस्या रहेकोमा मन्त्रालयले चार हजार स्वास्थ्य कर्मचारीको समायोजन टुंग्याएर समिति समेत विघटन गरेको बताए । ‘महत्वपूर्ण कुरा हामीले सात हजार कर्मचारी मध्ये चार हजारको समायोजन टुंग्याएका छौं, अहिलेलाई समायोजन समिति विघटन गरेका छौं, बाँकी तीन हजारको पनि नियमित रुपमा हुन्छ ।’ उनले भने ।

मन्त्री ढकालले आफु पहिला मन्त्रालयमा आउँदा विधि र नीतिभन्दा बाहिर रहेर गरिएका काम पनि नीति भित्र ल्याएको जिकिर गरे । विगतमा अन्यायमा परेकालाई समेत न्याय दिइएको बताउँदै ढकालले धेरै फोहरको डंगुर भएको ठाउँमा फोहर सफा गर्दा अलिअलि दुर्घन्ध हुँदापनि कुरा काटिएपनि त्यसलाई आफुले सकारात्मक रुपमा लिएको बताए । ‘सबै पुरा भए भन्ने हैन, तर हिजोको भन्दा हामी रफ्तारमा छौं ।’ मन्त्री ढकालले भने ।
उनले आफुले सय दिनमा दुई तीन वर्षदेखि रिक्त रहेका प्रतिष्ठानहरुमा पदाधिकारीसमेत नियुक्त गर्न सफल भएको जिकिर गरे । ‘म आएपछि मात्रै चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिनेट भएका छन् । वीपी क्यान्सर अस्पतालमा सञ्चालक समितिले पूर्णता प्राप्त गर्यो, पाटन, वीपी, कर्णाली तथा न्याम्सका सिनेट भएका छन् ।’
उनले आन्तरिक जिम्मेवारी हेरफेर र विशिष्ठ पदाधिकारीहरुको पदोन्नती पनि गरिएको बताए । अस्पतालको क्षेत्र र अन्य क्षेत्रमा अतिरिक्त कामहरुको कारणले ध्यान दिन नसकेको स्विकार्दै आगामी दिनमा ध्यान दिएर जाने बताए ।
मन्त्री ढकालले कोरोना भाइरसबाट जोगिन सरकारले विशेष तयारी गरेको बताउँदै कोरोना भाइरस जोखिम रहेका मुलुकमा नेपालको आवत जावत रोक्ने तयारी भइरहेको पनि बताए । उनले परराष्ट्र मन्त्रालयसँग समन्वयमा ती देशहरुमा नेपाल तर्फको उडान रोक्ने विषयमा छलफल भएको जनाए । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिले यस विषयमा छलफल गरिरहेको र एक दुई दिनमै निर्णय दिने जनाए ।
कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका १७५ सहित २१८ जनामै संक्रमण नदेखिएको भन्दै जनवरी दोस्रो साता देखिएका एक नेपाली समेत पूर्ण निको भइसकेकोले सरकारले उच्च सतर्कता अपनाएको बताए ।
ढकालले कोरोना संक्रमणको रोकथाम, शिघ्र पहिचान, निगरानी तथा ब्यवस्थापन गर्न सहज हुने गरी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रोटोकल तथा कार्य योजना तयार गरीएको बताए । अब कोरोना भाइरस शुरु भएको चीनसँग भन्दा पनि नेपालीहरु रहेका देशहरु कोरिया, खाडी मुलुक तथा जापान जस्ता देशमा पनि संक्रमण बढेकोले त्यहाँबाट आउने र रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने सन्दर्भमा कार्य योजना बनाउन लागेको बताए ।
ढकालले कोरोना भाइरस प्रभावित मुलुकबाट नेपाल आउने यात्रुहरुको स्वास्थ्य जाँचका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सलाई थप जनशक्ति तथा तीन वटा इन्फायर्ड रेडिएसन थर्मोमिटर थप गरिएको पनि बताए । साथै तातोपानी र रसुवागढी नाकामा चिकित्सक पठाइएको, सातै प्रदेशमा आवश्यक सामग्री सहित प्रदेश सरकारसँग समन्वयगरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको ब्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन पनि गरिएको जिकिर गरे ।
उनले उपत्यकाका सबै अस्पतालहरुसँगको समन्वयमा पूर्व तयारीका लागि बैठक तथा छलफल गरेको जनाए ।
यस्ता छन् स्वास्थ्य मन्त्रालयले सय दिनमा गरेका काम








