अपार्टमेन्टमा तीन जना पोजिटिभ देखिदैमा आत्तिहाल्नु पर्दैन, पीसीआर रिपोर्ट नेगेटिभ आउन सक्छ !

वैशाख २, काठमाडौं । काठमाडौंमा एकै परिवारका तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि धेरैमा सन्त्रास देखिएको छ । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड-१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि राजधानीमा धेरै जना आत्तिएका छन् ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनाको रिपोर्ट पोजिटिभ आएको हो । रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनीहरू सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका थिए ।
तर विज्ञहरुका अनुसार आरडीटी किटबाट गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आयो भन्दैमा आत्तिहाल्नु भने पर्दैन । पीसीआरमा उनीहरुमा पोजिटिभ नभेटिन पनि सक्छ । आरडीटी किट चीनको ग्वान्जाउ वन्डफो बायोटेक कम्पनीले उत्पादन गरेको यो किटको विश्वसनीयतामा विश्वभर नै सन्देह प्रकट भइरहेका छन् ।
null
कोभिड १९ बारे सुरुदेखि नै ट्विटरमार्फत् जानकारी दिँदै आएका जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले सोमबार ट्विटरमा भिडियोमार्फत आरडीटी किटबाट गरिएको परीक्षणको विश्वसनीयताबारे जानकारी दिएका छन् ।
उनका अनुसार आरडीटीले ‘इम्युनोग्लोब्युलिन-एम’ (आईजीएम) वा ‘इम्युनोग्लोब्युलिन–जी’ (आईजीजी) रगतमा भए/नभएको हेर्ने गर्छ । यो संक्रमण सुरु भएदेखि कम्तिमा तीनदेखि चार दिन र बढीमा पाँच छ महिनासम्म पनि देखिन सक्छ । यदि कसैलाई कुनैबेला संक्रमण भएको छ भने ।
‘अहिले नेपालमा चलाइएको परीक्षणमा आईजीजी र आईजीएम दुवै मिक्स छ । त्यसले गर्दा अहिले पेप्सीकोलामा देखिएको केस मान्छे बिरामी भएर चेक गराएर टेस्ट गर्दा भेटिएको होइन कि कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा र्यापिड टेस्ट गर्दा भेट्टाइएको हो । त्यही भएर र्यापिडबाट पत्ता लगाउनु भनेको सबैजना आत्तिनु पर्दैन । यो भनेको स्वभाविक हो ।’ डा. दीक्षितले भनेका छन् ।
दीक्षितले भिडियोमार्फत दिएको जानकारी यहाँ हेर्नसक्नु हुन्छ https://twitter.com/smadixit/status/1249707899481231365
‘तीन महिनाअघि इन्फेक्सन भए पनि समात्छ, एक हप्ताअघि भएको पनि समात्छ, एक महिनाअघि भएको पनि समात्छ,’ डा. दीक्षित अगाडि भन्छन्- ‘र्यापिडले आजको दिनमा कोही व्यक्तिलाई संक्रमण छ कि छैन भन्ने प्रश्नको उत्तर दिन सक्दैन । त्यसको लागि पीसीआर नै चाहिन्छ। त्यसैले पीसीआर भनेको पहिचानको लागि हो र आरडीटी भनेको निगरानीका लागि हो । अर्थात् क्वारेन्टिनमा बसेकाहरुलाई संक्रमण बढेको छ कि छैन वा घटेको छ कि छैन हेर्नलाई गरिेने प्रविधि हो ।’
र्यापिड टेस्टमा आएको नतिजा शतप्रतिशत सही नहुन पनि सक्ने विज्ञहरुले यसअघि नै बताइसकेका छन् । आइतबार र्यापिड टेस्टमा पोजिटिभ देखिएकी बाग्लुङकी एक महिलाको सोमबार पोखरामा गरिएको पिसिआर टेस्टमा भने नतिजा नेगेटिभ देखिएको थियो ।










