…त्यसैले हामीलाई एउटा होइन सयौं गोविन्द केसी चाहिएको छ, यस्तै हठी !

माघ ३, काठमाडौँ । सरकारले इलाममा अनशनरत डा. गोविन्द केसीका मागहरु सम्बोधन गर्नैपर्छ । सरकारले डा. केसीसँग भएको सम्झौताको उल्लंघन गरिरहेको छ ।
डा.गोविन्द केसी १६ औं अनसनमा हुनुहुन्छ । एउटा मान्छे उही विषयमा यति धेरै पटक अनशन किन बस्नुपर्यो ? बस्दा के भयो त ? प्रश्नहरु उठेका छन् । अहिलेको प्रश्नमा जानुभन्दा पहिला एकपटक अनशनको श्रृंखलालाई हेरौंः
null
वि.सं.२०६९ असार २१ गते पहिलो पटक आईओएमको डिन नियुक्ति राजनीतिक भागबण्डाको आधारमा नभई वरिष्ठताको आधारमा गर्नुपर्छ भन्ने माग सहित शुरु भएको डा. गोविन्द केसीको अनशन १६औँ चरणमा पुगेको छ ।
डा. केसीले प्रारम्भिक दिनदेखि उठाएका धेरै मागहरू आइओएमको सुधारसँग केन्द्रित थिए । चाहे त्यो डिनको नियुक्तिको विषय होस् वा चिकित्सा शिक्षा नीतिको विषय । छैठौं अनशनसम्म बहुसंख्यक मागहरू आइओएम र त्रिविसँग नै सम्बन्धित थिए ।
क्रमशः पछिल्ला अनशनहरूमा मेडिकल कलेजको सिट निर्धारण, सम्बन्धन, योग्यताको आधारमा भर्ना, शुल्कको सीमा, निःशुल्क ऐन्, विदेश पढ्न जानु अगाडि अनिवार्य प्रवेश परिक्षा, सबै प्रदेशमा सरकारी मेडिकल कलेज, छात्रवृत्तिमा ७५ प्रतिशत हुनुपर्ने, चिकित्सा शिक्षा नीति र ऐन बनाउनुपर्ने लगायत माथेमा कार्यदलले दिएका सुझावहरू सहित समग्र चिकित्सा शिक्षा सुधार केन्द्रीत मागहरू उठान भए ।
१६ औँ अनशन मध्ये ७ पटकमा त नेपाली कांग्रेसको सरकार थियो । केसीको पाचौं, छैटौं र सातौं अनशनमा सुशील कोइराला प्रधानमन्त्री थिए । त्यस्तै, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं अनशनमा प्रधानमन्त्री थिए शेरबहादुर देउवा थिए । डाक्टर केसीको पहिलो र दोस्रो अनशनमा डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री थिए । तेस्रो र चौँथो अनशनमा खिलराज रेग्मी मन्त्रिपरिषदका अध्यक्ष थिए । नवौं र दशौं अनशनमा पुष्पकमल दाहाल प्रधानमन्त्री थिए । त्यसैगरी आठौं र १५ औं अनशनमा प्रधानमन्त्री रहेका केपी ओलीले सम्झौता कार्यान्वयन नगर्दा अहिले १६ औं अनशन निम्तिएको हो ।
उदेकलाग्दो विषय त के छ भने सत्ताले जहिल्यै डा. केसीलाई प्रतिपक्ष देख्छ, अहिलेको सरकार उनलाई कम्युनिष्ट विरोधीको संज्ञा दिइरहेको छ र कांग्रेसको ट्याग भिराउँदैछ । हिजोका दिनमा पनि सत्ताको नेतृत्व गर्नेहरूले त्यसरी नै किनारा लगाए । यो आधारमा डा. गोविन्द केसीले उठाएका सुधारको आवाज विरुद्ध सरकार त रह्यो नै कहिले विश्वविद्यालय, कुनैबेला नेपाल मेडिकल काउन्सिल जस्ता नियमकदेखि अख्तियार जस्ता संवैधानिक निकाय मात्रै होइन् कहिले सम्मानित सर्वोच्च अदालतसँग समेत उनको संघर्ष रह्यो । पछिल्लो पटक अहिले उनी संसदसँग लडिरहेका छन् ।
मानिसहरु गोविन्द केसी एकोहोरो भन्छन्, कसैले पागल पनि भने । एकोहोरो त हामीहरु पो हो । जो जसरी भएपनि अन्य क्षेत्रजस्तै यो पनि ध्वस्त बनाउने भनेर लागेकै छाैँ । मानिसहरु गोविन्द केसीलाई लाज लाग्नुपर्ने भन्छन्, लाज त हामीलाई लाग्नुपर्ने, हामी अर्थात् पार्टी, संसद, सरकार, अदालत, अख्तियार सबै मिल्यौं, केका लागि ? मेडिकल शिक्षा अर्थात् जनताको स्वास्थ्यको हकलाई अस्तव्यस्त बनाउनका लागि मिलिरहेका छौँ । के लाज हामीलाई लाग्नुपर्ने होइन र ?
डा. केसीको संघर्षले गर्दा के भयो र उनी नभएको भए के हुन्थ्यो ? १६ वटा अनशनको यो लामो यात्रामा अनेकन प्रतिरोध र अनिच्छाका बीचमा डा.केसीको अनशन र निरन्तरको संघर्षले सुधार भएका केहि प्रसंगहरू हेरौंः
सम्बन्धनको विषयः मापदण्ड र आधारविना पहुँचका भरमा मेडिकल कलेजको सम्बन्धन दिने परिपाटीका विरुद्ध डा. केसी पटक पटक नउभिएको भए आज सबै प्रकारका शक्तिको दुरुपयोग र प्रयोग गरेर हामी सबै लागेर अहिलेसम्म दर्जनौं कलेज नेपालभरी मुख्यगरि काठमाडौंमा खोलेका हुन्थ्यौँ ।
घट्टेकुलोको सुनसान अपार्टमेन्ट ‘काठमाडौ नेशनल’ जस्ता कलेजले भर्नाको विज्ञापन खोलिरहेका हुन्थे । उपत्यका भित्र र बाहिर दबाब र प्रभावमा अहिलेकै विश्वविद्यालयबाट डेढ दर्जन मेडिकल् डेन्टल कलेज थपिएका हुन्थे । ती कलेज चलाउन नक्कली प्रोफेसर, नक्कली शैय्या, नक्कली बिरामी, देखावटी अनुगमनका कागजहरूको आडमा सम्बन्धन र सिटको लागि हुन बाँकी के नै रहन्थ्यो होला र । अहिले भएकै कलेजहरूको व्यवस्थापन र नियमन गर्न नसकेका विश्वविद्यालयहरूले ति कजेललाई दिने सम्बन्धन र त्यसको नियमनको अवस्था र गुणस्तर कस्तो हुन्थ्यो सहजै अनुमान लगाउन सकिन्छ।
आज हामीसँग मेडिकल कलेज त हुन्थ्यो, तर अहिले बंगलादेशको मेडिकल काउन्सिलले मेरो देशको फलानो फलानो कलेजमा नपढ्नु भनेर सुचना निकाले जस्तो हाम्रो अवस्था हुन्थ्यो ।
तर, डा. केसीको अनवरत संघर्षले विश्वविद्यालयहरुले आफू अनुकुल चोर बाटोबाट कहिले अख्तियार वा अन्य निकायको आडमा भएका सम्बन्धनका खेलहरु डा. केसीकै अनशनको बलमा चिरिएका हुन् । अनशनकै कारण चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तयार गर्न उच्चस्तरिय कार्यदल बनाउने र उक्त नीति तयार नभएसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने र सम्बन्धन दिने प्रक्रिया अगाडि बढाएको भए पनि कार्यान्वयन नगरी यथास्थितिमा राख्ने निर्णय भएको थियो ।
त्यसयता भएका पटक–पटकका सम्बन्धनका प्रयत्न पनि डा. केसीकै खबरदारीका कारणले रोकिएका र दिएको भनिएको पनि खारेज भएका छन् । काठमाडौं नेशनललाई जुन विश्वविद्यालयको कार्यकारी परिषद्ले सम्बन्धन दियो, त्यसैले बनाएको समितिको प्रतिवेदनमा टेकेर खारेज गर्नुपरेको विषय होस् वा, मन्त्रीपरिषद्ले सम्बन्धनको निर्णय गरेपछि मन्त्रीपरिषद्को निर्णयले नै निर्णय खारेज गरेको वि एण्ड सीको विषय होस् । यस्ता थुप्रै दृष्टान्त हाम्रा सामु छन् । आज यी सबै कुरालाई व्यवस्थित गर्न चिकित्सा शिक्षा ऐन बनाउन जुन प्रयास हामीले गरेका छौं त्यो डा. केसीको निरन्तरको संघर्षको परिणाम हो।
मेरिटको आधारमा भर्नाको विषयः डा. केसीले संघर्ष थाल्नुपूर्व मेडिकल शिक्षामा शुल्कको विषय मनोमानी थियो । छात्रवृति बाहेक पहुँच हुनेहरूका छोराछोरीलाई प्रभावमा पार्न निःशुल्क पढाइदिने र सर्वसाधारण विद्यार्थी लुट्ने प्रवृति थियो । बढी शुल्क जसले तिर्छ, जसको पहुँच पुग्यो उही भर्नाको प्राथमिकतामा पथ्र्यो । अर्थात् बढिबढाउमा भर्ना हुन्थ्यो ।
मेरिटमा नाम अगाडि पढेकाहरु भर्ना नपाएर थाक्ने र पैसावालले सहजै कलेज पाउने अवस्था थियो । एकमुष्ट शुल्क तिर्न सक्नेले मात्रै भर्ना हुन पाउँथे । यो वेथितिविरुद्ध डा. केसीले निरन्तर आवाज उठाए, विभिन्न अनशनका क्रममा यस्ता पदाधिकारीमाथि कारवाहीका माग उठाए । माथेमा प्रतिवेदनले यी विषय सुधारका लागि सुझाव दिएसँगै सरकारले मन्त्रीपरिषदबाटै शुल्क तोक्यो, माथेमा प्रतिवेदन अनुसारका सुझावलाई संघर्षकै बलमा विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलले लागू गरेका छन् ।
अहिले ओपन हाउस काउन्सिलेङमार्फत् कलेज छानेपछि कलेजकै खातामा पैसा जम्मा गरेपछि सो भौचर आइओएममा बुझाएपछि अनलाइनबाटै भर्ना हुन्छ । केयूले पनिकलेज नै तोकेर विद्यार्थी पठाउँछ । तोकिए अनुसारको शुल्कमै र किस्ताबन्दीमै भर्ना हुन्छ । यो निकै ठूलो सुधार हो ।
तोकिएको शुल्कमा, योग्यता सूचीका आधारमा भर्ना हुन सक्ने स्थितिले चिकित्सा शिक्षाको गुणस्तरमा ठूलो अन्तर ल्याउने निश्चित छ । किनकी, योग्य विद्यार्थी छनोट योग्य चिकित्सक उत्पादनको आधार हो ।
शुल्क र निःशूल्कको विषयः यसैपनि चिकित्सा शिक्षा धनीले मात्रै पढ्ने शिक्षाको रुपमा दर्ज भएको छ । शुल्क तोकिनुपर्छ प्रत्येक वर्ष पत्रपत्रिकामा कलेजहरुका बढिबढाव शुल्कका सूची सार्वजनिक हुन्थे । नाम चलेका कलेजले एमबिबिएसकै ७० लाख, कलेज अनुसारका शुल्क, विद्यार्थीको नम्बर अनुसारको शुल्क थियो । जति पछाडि मेरिट भयो, अनि बढी शुल्क । संसारभर निःशुल्क हुने पिजी झन् महंगो थियो । रेडियोलोजी जस्ता विषयका डेढ करोडसम्म शुल्क पुगेको थियो ।
डा. केसीको सषंर्षपछि विभिन्न आयोगका सुझावपछि सरकारले तीनवर्ष अघि मन्त्रीपरिषद्बाटै एमबिबिएस शुल्क तोक्ने । निजीमा पनि पिजीको साढे २२ लाख हाराहारी छ । सार्वजनिक मेडिकल कलेज र प्रतिष्ठानमा पिजी निःशुल्क छ । डा. केसी नभएको भए यो शुल्कको सीमा कहाँ पुग्थ्यो होला ?
त्यतिमात्रै होइन् पिजी निःशुल्क भइसकेपछि अहिले दुर्गममा यही वर्षदेखि झण्डैँ अढाई सय विशेषज्ञ चिकित्सक कम्तिमा २ वर्षका लागि दुर्गम क्षेत्रमा सेवा दिन जाँदैछन । के दुर्गमका जनताले विशेषज्ञ सेवा पाउने यो अवस्था डा. केसीको संघर्षविना संभव थियो ?
सिट निर्धारणको विषयस् नक्कली विद्यार्थी र नक्कली प्रधायापक (खडेवावा) राख्ने, मिलेमतोमा सिट थप्दै लाने, पुर्वाधार नपुगेको पनि पुर्याएको बनाउने र १५० सिट पुर्याउने काम त भएकै थियो । डा. केसीको खवरदारी नभएको भए त्यो घट्ने होइन झन् २०० पुग्ने अवस्था हुन्थ्यो ।
यो क्षेत्र सबैभन्दा बढि मुनाफाको क्षेत्र बन्दै गएको थियो । कलेजको क्षमता अनुसार सिट हुनुपर्छ भन्ने माग बमोजिम अहिले सिट संख्या १०० भन्दा बढी सिट नहुने विषय कार्यान्वयनमा छ । आफ्नो तजविजमा विश्वविद्यालयले सिट निर्धारण गर्ने परिपाटीको अन्त्य भएको छ ।
मेडिकल काउन्सिलले प्रभावकारी रुपमा नियमन गर्न थालेको छ । माथेमा कार्यदलको सुझाव र डा।केसीसंगको सम्झौता बमोजिम पटक पटक काउन्सिलले तोकिएको सिटमा नियम अनुसार योग्यता क्रममा आधारमा भर्ना गर्न र त्यसो नगरिए विद्यार्थीको भर्ना प्रकृया रद्द गर्ने जनाएपछि मात्र कलेजहरूले प्रकृया अनुसार भर्ना थाल्ने अवस्था आएको थियो । गुणस्तरमा केहि सुधारका संकेत देखिन थालेका छन् । के डा. केसीको निरन्तरको खवरदारीविना यी प्रयासहरू हुन्थे ?
नियमनको विषयः चिकित्सा शिक्षाको सन्दर्भमा नियमनकारी निकायहरुले प्रभावकारी ढङ्गले काम गर्न सकेका थिएनन् । पछिल्लो पटक सम्बन्धनका पर्खाईमा रहेका र पूर्वाधार पुगेका भनिएका केही मेडिकल कलेजका सन्दर्भमा भएका अनुगमनका प्रतिवेदनमा उल्लेख भएका विषय र पछि बाहिर आएका तथ्यले नै उजागर गर्छ । अनुगमन कति बनिबनाउ भइरहेका थिए । अख्तियारको निर्देशनको कारण मेडिकल काउन्सिलले काम गर्न सकेको थिएन ।
मेडिकल काउन्सिलको अनुगमनमा अख्तियार टोलीसँगै हुन्थ्यो र अख्तियारबाटै काउन्सिले मेडिकल कलेजको सिट तोक्ने गरेको विषय त विभिन्न प्रतिवेदनले नै उजागर गरेका छन् । अदालत, अख्तियारको संलग्नता झन बढ्दै हुन्थ्यो, हामी गएगुज्रेको अवस्थामा हुन्थ्यौं । डा. केसीको संघर्ष र खवरदारीका कारण आज ति नियामक निकायहरूले केहि हदसम्म स्वायत्त रुपमा काम गर्न सक्ने अवस्था बनेको छ ।
समस्या पहिचान र समाधानको विषयः डा. केसीले उठाएका मागका आधारमा कार्यदल, आयोग र समितिका आधा दर्जनभन्दा बढी प्रतिवेदन छन् । जसले चिकित्सा शिक्षाका विकृति के थिए, त्यसमा संलग्न को थिए र अब कसरी त्यसको सुधार सम्भव छ भन्ने स्पष्ट कार्यदिशा दिन्छ । यसअवधिमा माथेमा कार्यदल प्रतिवेदन जुन अहिलेसम्मकै विस्तृत दस्तवेज हो, जसले चिकित्सा शिक्षाको सन्दर्भमा एउटा स्पष्ट मार्ग निर्देश गर्छ ।
मेडिकल कलेज खोल्ने मापदण्ड र स्थानका सन्दर्भमा पूर्व शिक्षासचिव जयराज गिरी नेतृत्वको (मेडिकल कलेज उच्चस्तरीय राष्ट्यि मापदण्ड सिफारिस) उच्चस्तरीय समिति प्रतिवेदन कहाँ–कहाँ मेडिकल कलेज खोल्न सकिन्छ भन्ने स्पष्ट आधार दिएको छ ।
त्यसैगरी चिकित्सा शिक्षा पढाउने विश्वविद्यालय, प्रतिष्ठनको संचालनका सम्बन्धमा डा. रमेशकान्त अधिकारीको संयोजकत्वमा गठित कार्यदलको चिकित्सा विज्ञानसम्बन्धी विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदलको प्रतिवेदन २०७१, गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुन् ।
डा. केसीको अनशनकै सम्झौताको आधारमा त्रिविले डा. रमेशकान्त अधिकारीको संयोजकत्वमा डिन नियुक्तिको मापदण्ड बनाउन समिति बनाएको थियो । विश्वविद्यालयहरुका पदाधिकारी लगायतको नियुक्तिका सन्दर्भमा स्पष्ट मापदण्डसहितको विश्वविद्यालयका आयोगका अध्यक्ष परासर कोइरालाको संयोजकत्वको समितिको प्रतिवेदन चाहेको अवस्थामा कार्यन्वयन गरेर नियुक्तिलाई समेत व्यवस्थित गर्न सकिने ठाउँ छ ।
यसबाट अनुमान लगाउन सकिन्छ डा. केसी नभएको भए के हुन्थ्यो होला भनेर । उनी हुँदा लगातार संघर्ष गर्दा, सरकारलाई झुकाएर सम्झौता गर्न बाध्य बनाउँदा त अझै यस्तो अवस्था छ भने नभएको भए के हुन्थ्यो होला ?
पुरानो कुरा छोडौं केहि महिना अगाडि यहि सरकारले ल्याएको विधेयक पास भएको भए नै के हुन्थ्यो ? विश्वविद्यालयले जति पनि सम्बन्धन दिन पाउँथ्यो, काठमाडौं नेशनल लगायत कयौं काठमाडौंमा खुलेका हुन्थे, अस्पतालको मापदण्ड पनि चाहिन्नथ्यो। सरकारले चाहेको त यहि नै त थियो। तर डा. केसीको कारण त्यो हुन पाएन।
१. नेपालमा थप मेडिकल कलेज खोल्न नदिएर डा. केसीले हजारौंका संख्यामा विद्यार्थी बाहिर जाने गरेको आरोपसमेत कतिपयले लगाउँछन । जबकी नेपाल मेडिकल काउन्सिलको तथ्याङ्कलेः चिकित्सा शास्त्र अध्ययनको लागि नेपाली विद्यार्थी नेपाल बाहिर विभिन्न देशमा जानेको संख्या सन २०१४ मा १३७८ जना, सन २०१५ मा १४६१ जना रहेको देखिन्छ । सन् २०१६ मा त्यो संख्या घटेर ४७८ र सन २०१७ मा ४९५ रहेको देखाउँछ ।
यसरी संख्या ह्वातै घट्नुको मुख्य कारण सन् २०१६ देखि नेपाल मेडिकल काउन्सिलले शुरु गरेको विदेश जानुपुर्व नेपालको प्रवेश परिक्षा पास गरेपछि मात्रै इलिजिविलिटी सर्टिफिकेट दिने व्यवस्था हो । जुन व्यवस्था डा. केसीको संघर्षका कारण भएको हो । केहि बर्ष अगाडिसम्म नेपालमा इलिजिविलिटी प्रमाणपत्र नलिईकनै विदेशमा पढ्न जाने प्रचलन थियो । डा. केसीसँगका सम्झौता, माथेमा कार्यदलको सुझावपछि विदेश जाने विद्यार्थीले पनि कम्तिमा नेपालको प्रवेश परीक्षा पास भएर मात्रै जानुपर्ने भन्ने व्यवस्थाले विदेश जाने विद्यार्थी घटेको छ ।
२. नेपालमा मेडिकल कलेज कम भएको र सिट संख्या कम भएकोले मात्रै विद्यार्थी बाहिर पढ्न गएका हुन् भन्ने भ्रम पार्न खोजेको छ । तथ्यले त्यस्तो देखाउँदैन । अहिले पनि भएकै मेडिकल कलेजका सिट रिक्त भइरहेका छन् र ४० प्रतिशतसम्म सिट विदेशी विद्यार्थीले भरिएका छन् । गत बर्ष जानकी मेडिकल कलेज र नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज लगायतमा सिट खाली भएका थिए । थुप्रै कलेजले तोकिएको समयमा सबै सिटमा विद्यार्थी पुरा गर्न सकेनन्, झण्डैँ ६०० सिट खाली थिए।
यसवर्ष पनि विद्यार्थीको रोजाईँमा ति कलेज परेनन् । त्यसैले विदेश जानुको कारण नेपालमा कलेज नभएर मात्रै होइन, केहि विद्यार्थी छात्रवृत्ति पाएर गएका छन्, केहि नेपालमा भन्दा राम्रो गुणस्तरको कलेज पाएर गएका छन्, केहि नेपालका कम गुणस्तर कलेजमा भन्दा समयमै सर्टिफिकेट पाउन सकिने अवस्थाले गएका छन्, केहि नेपालमा अधिकांश कलेजले एकमुष्ट रुपमा धेरै पैसा लिने र तोकेको भन्दा अत्यधिक धेरै लिने हुँदा नेपाल बाहिरको कलेजले लिने शुल्क पनि थोरै र किस्तामा बुझाउन पाइने भएकोले आर्थिक समस्याका कारण गएका छन्, कतिपय नेपालमा पटक पटक उत्तिर्ण हुन नसकेपछी डा.बन्नैपर्ने महत्वकांक्षा र दवावका कारण गएका छन् ।
अहिले पनि डा. केसीले नेपालमा कलेज चाहिँदैनन् भनिरहेका छैनन् । सरकारी कलेज खोलौं, काठमाडौँभन्दा बाहिर नभएका ठाउँमा खोलौं, पैसा नहुने तर जेहन्दार विद्यार्थीलाई निःशुल्क पढ्ने वातावरण बनाउ र दुर्गममा सेवा गर्न पठाउ भनिरहेका छन् ।
३. अर्को आरोप छ, पुराना मेडिकल कलेजको सिन्डिकेटको पक्षमा डा. केसी भए । डा. केसीले सुधारमा अभियान थाल्नुपूर्व अधिकांश मेडिकल कलेजले १५० जना विद्यार्थी सिटमा विद्यार्थी पढाउँथे अहिले कलेजहरुका अधिकतम् सिट १०० छ । जुन मेडिकल कलेजका ५०का दरले सिट संख्या घटेका छन् ती कलेजका सञ्चालकको पक्षमा डा. केसी छन् भन्नु कुतर्क हो । जसको आन्दोलनले सिट घटाएको छ, शुल्क घटाएको छ, नियमन बलियो बनाएको छ, त्यसको पक्षमा मेडिकल सञ्चालकहरु होलान् कि विरुद्धमा ? यत्ति बुझिदिए पुग्छ ।
संविधानले भन्छ स्वास्थ्य मौलक हक हो, जनतालाई सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको दायित्व हो । दल भन्छन् मेरो दल सरकारमा आए मात्र संविधानको यो व्यवस्था मुर्त हुन्छ । अनि स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय हुने वा नहुने निर्धारण गर्ने मुद्दाको सबैभन्दा महत्वपूर्ण हो चिकित्सा शिक्षा ।
माथि चर्चा गरिएको जस्तो चिकित्सा शिक्षाको क्षेत्र अस्तव्यवस्त भयो, महंगो भयो, गुणस्तरहीन भयो भने कहाँबाट हुन्छ स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय ? डा. गोविन्द केसीले खोजेको केही होइन् यही चिकित्सा शिक्षालाई ठिक बनाउन खोजेको हो जुन वास्तवमा हाम्रो काम हो, हाम्रो बचन हो ? अनि ठिक बनाउने हाम्रो काम होइन् रु अनि त्यसकै लागि गोविन्द केसी बुढो शरीर लिएर कहिले कुन पार्टीका सरकार कहिले कुन पार्टीका सरकार, कहिले अदालत, कहिले अख्तियारका विरुद्ध लड्नुपर्ने यो भन्दा विडम्बना केही हुन्छ ?
गोविन्द केसी एक फकिर हुन्, सन्त हुन्, जनताको यो स्वास्थ्यको लागि लाग्दा लाग्दा सिंहदरवारको तातो कुर्सीमा को हुन्छ उनलाई कहिले चासो भएन, अख्तियार प्रमुख लोकमानविरुद्ध लड्दै गर्दा ती लोकमान नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीले गद्दिरोहण गराएका अख्तियारको कुर्सीमा राखेका हुन्, भन्नेसँग उनले वास्ता गरेनन् ।
प्रधानन्यायधीश गोपाल पराजुलीसँग लड्दैगर्दा हिजो न्यायधीशको भागबण्डामा कस्को भागमा परेका थिए भन्ने उसलाई चासो भएन, उनलाई चासो केवल एउटा कुराको रह्यो । चिकित्सा क्षेत्रमा थिति बसाल्न मद्दत गर्ने साथी हुन् । विगार्न खोज्नेका दुस्मन हुन् । के कांग्रेस के नेकपा उनको चासोको विषय होइन ।
यो सबैलाई बिर्सेर आज डा.केसीलाई कम्युनिष्ट विरोधी भनेर स्थापित गर्न खोज्नु अज्ञानता, अंहकारले प्रभावित दृष्टिदोस मात्र हो । डा. गोविन्द केसी न कांग्रेसका समर्थक हुन् न नेकपाका न कांग्रेसका विरोधी हुन् । तर आज आम नेपाली जनताको गुणस्तरीय स्वास्थ्यको लागि लड्नु भनेकै कम्युनिष्ट विरोधी हुनु हो, ठुला ठालु राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्न जाने तर आम जनताले उपचार गराउने देशका स्वास्थ्य संस्थाको विजोग हुने अवस्था बदल्न लड्नु भनेकै कम्युनिष्ट विरोधी लडाई हो भन्ने नेपालको कम्युनिष्ट पार्टीको ठहर हो भने के नै भन्न सकिन्छ र ?
एउटा उदाहरण हेरौं त, गएका ३० वर्षमा हाम्रो सार्वजनिक विद्यालय शिक्षा कस्तो ध्वास्त भएको छ, प्रत्येक सरकारले बर्वाद भयो भनेर सुधार गर्ने अध्यायन गर्छ, गराउँछ । तर सुधार हुनको सट्टा झनझन बिग्रँदछ किन ? किनकी हामी (सरकार अड्डा अदालत) सबै सुधार गर्नुपर्छ मुखले भन्ने तर व्यवहारमा भत्काउन नै लाग्यौं । अनि सुधारको लागि बनेको अध्ययनले भनेको जस्तो गर्न बाध्यपार्ने कुनै गोविन्द केसी यो क्षेत्रमा थिएन, त्यसैले झन्झन् ओरालो लाग्यो ।
हो, त्यसैले हामीलाई एउटा होइन सयौं गाेविन्द केसी चाहिएको छ, यस्तै निस्पृय, यस्तै पवित्र, यस्तै हठी गोविन्द केसीहरु ।
तर हामी भएको एउटालाई पनि मार्न तयार भएको हो ?
किनकी डा. गोविन्द केसी हाम्रो गलत स्वार्थका विरुद्धमा उभिए, उभिइराखेका छन्, भोली पनि उभिइराख्छन् ।
त्यसैले हाम्रो स्वार्थका विरुद्धमा उभिने डा. गोविन्द केसीलाई नै ढाल्दिन चाहेको हो ? प्रधानमन्त्रीज्यू !
(बिहीबार काठमाडौंको होटेल हार्दिकमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक र डा. केसीको अनशन सन्दर्भमा कांग्रेस नेता गगन थापाले राखेकाे धारणा)








