सशस्त्रका पार्कीलाई म्याराथनको उपाधि

चितवन माघ ११ । सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले म्याराथन दौडको उपाधि जितेका छन् । चितवनमा शनिवार आयोजित म्याराथन दौड प्रतिद्वन्द्वी अनिष थापालाई ६ सेकेन्डको अन्तरले पराजित गर्दै पार्कीले जितेका हुन् ।
रोटरी क्लब अफ रत्ननगरले भ्रमण वर्षको अवसर पारेर राप्ती नगरपालिकाको भण्डारादेखी रत्ननगरको निपनी स्थित होटेल स्टार ब्यान्क्युटसम्म १४ किलोमिटर ५ सय मिटरको दौड आयोजना गरेको थियो ।
उपाधि जितेका ३० वर्षीय पार्कीले नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । उपाधि जित्ने क्रममा पार्कीले कूल दुरी ४२ मिनेट ३५ सेकेन्डमा पूरा गर्दा द्वितीय भएका भारतीय सेनामा कार्यरत अनिष थापाले ४२ मिनेट ४१ सेकेन्डमा पार गरे ।

थापा लिगलिगे दौडका उपाधि विजेता हुन् । उनले चार पटकसम्म लिगलिगे दौडको उपाधि जितिसकेका छन् । उपाधि जितेका पार्कीले थापासँगै धेरै प्रतियोगितामा प्रतिस्पर्धा भएकोमा अहिलेसम्म दुवै जनाले बराबरी जसो उपाधि जितेको बताए ।
पार्की गत १३ औँ सागमा दौडको स्वर्ण विजेता समेत हुन् ।
प्रतियोगितामा त्रिभुवन आर्मीका दीपक अधिकारीले ४४ मिनेट ११ सेकेन्डमा दौड पुरा गरेर तेस्रो भए । प्रतियोगितामा प्रथम हुने पार्कीलाई ५० हजार पुरस्कार सहित चाँदीको तक्मा र प्रमाणपत्र, द्वितीय हुने मगरलाई २५ हजार नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र र तृतीय हुने अधिकारीलाई १५ हजार नगद पुरस्कार सहित चाँदीको तक्मा र प्रमाणपत्र प्रदान गरिएको रोटरी क्लब अफ रत्ननगरका सचिव सुरेन्द्रनाथ रेग्मीले जानकारी दिए ।
प्रतियोगितामा पुरुष १४९ जना,महिला १२१,चेपाङ ७९ र विदेशी ३ जना गरी ३५३ जनाले सहभागिता जनाएका थिए ।
निपनी स्थित होटेल स्टार ब्यन्क्युटमा आयोजित कार्यक्रममा रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठ, रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेल र मिस नेपाल अर्थले संयुक्तरुपमा विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए । अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा रोटरीका पूर्व डिष्ट्रक गभर्नर सञ्जय गिरी, पूर्व असिस्टेन्ट गभर्नर राजेन्द्र कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी रविन कार्की, रवि बराल लगायतले मन्तव्य राखेका थिए ।








