१ खर्ब ४ अर्ब लागतमा बन्न लागेको अरुण तेस्रोको यस्तो छ नालीबेली

 

माघ ९, विराटनगर । राष्ट्रिय गौरवको बहुचर्चित परियोजना ‘अरुण तेस्रो जलविद्युत् आयोजना’ को कामले तीव्रता लिएको छ । 

सन् २०२२ सम्म ९ सय मेगावाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको आयोजनाको काम हेर्दा केही सकारात्मक संकेत देखिएको छ । 

null

विक्रम सम्वत् २०४२ सालदेखि चर्चामा रहेको संखुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको काम राजनीतिक विवादका कारण पटकपटक अवरुद्ध हुँदै आएको थियो । गत बैशाख २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेदेखि काम सन्तोषजनक रुपमा अघि बढिरहेको छ । 

संखुवासभाको मकालु र चिचिला गाउँपालिकास्थित आयोजना निर्माणको जिम्मा भारतीय सरकारी आयोजना सतलज हाइड्रोले लिएको छ । आयोजनाको कूल लागत १ खर्ब ४ अर्ब रूपैयाँ रहेको छ । 

 

सन् २०२२ सम्म निर्माण सम्पन्न गर्नुपर्ने प्रावधान रहेको आयोजनाको सतलजले निर्माण शुरु गरेकोे ९ महिनाको अवधिमा १५ प्रतिशत काम पुरा भएको जनाएको छ । सतलज हाइड्रोका कार्यकारी निर्देशक सतिशकुमार शर्माले धेरै काम सँगसँगै थालिएकोे जानकारी दिए । 

उनले भने, ‘हामीले परियोजना स्थल सम्मको सडक निर्माण गरिसकेपर्छ ड्याम निर्माणको काम गर्नुपर्नेछ, ड्याम निर्माणका लागि जति पनि कमशल रक्सहरु निकालिन्छ, जब सम्म हार्ड रक्स निकालिँदैन तब सम्म खन्ने काम हुन्छ ।’ 

भारत सरकारले बजेटमार्फत् अरुण तेस्रो आयोजनामा लगानी गर्ने गरी ५७ अर्ब २३ करोड भारु छुटयाएको छ । सम्झौता अनुसार उत्पादित बिजुलीको २१ दशमलव ९ प्रतिशत बिद्युत नेपालले निःशुल्क पाउनेछ । 

 

बाँकी बिजुली भारत निर्यात हुनेछ । आयोजनाको २५ वर्षपछि पूरै आयोजना भारतले नेपाललाई हस्तान्तरण गर्नेछ । मकालु् गाँउपालिका वडा नं ५ का वडाध्यक्ष जापान गुरुङले राष्ट्रिय आयोजनाको यो जलविद्युत उत्पादन हुने भएपछि संखुवासभाबासीलाई मात्र लाभ नभई मुलुकले नै लाभ लिन सक्ने धारणा राखे । 

उनले भने, ‘अरुण तेस्रो परियोजना निकै चर्चा हुँदै आएको विषय हो । यस परियोजनाले नेपालको विद्युत संकट अन्त्य गर्छ । लामो समयको प्रतिक्षापछि अरुण तेस्रो परियोजना सुरु भएको छ । यो परियोजना निर्माण सम्पन्न भएपछी यहाँ उत्पादन हुने विजुली मध्ये करिब २२ प्रतिशत नेपालले पाउनेछ र परियोजना सुचारु भएको मितिले २५ वर्षपछी पुरै नेपालले पाउनेछ ।’ उनले यसबाट नेपालमा विद्युत संकटको युग अन्त्य हुने बताए । 

मुख्य सुरुङसम्म पुग्नका लागि दोभानमा निर्माण भईरहेको प्रवेश सुरुङ मार्गको ५ सय ९ मिटर लम्बाइ मध्ये ३ सय ४७ मिटरको काम सकिएको छ । ४ वटा प्रवेश सुरुङको काम सकिएसँगै एकैपटक आठ स्थानबाट मुख्य सुरुङ मार्गको काम अघि बढाइने तयारी कम्पनीको छ । 

ड्याम निर्माणस्थलमा रहेको बस्ति सरकारले मुआव्जा दिएर खाली गराएको छ । आयोजनाले २ सय ६९ परिवारलाई १ अर्ब ३० करोड मुअब्जा वितरण गरेको छ । राष्ट्रिय परियोजना भएकाले आफूहरुले त्याग गरेको स्थानीय पुष्पबहादुर पराजुलीको भनाइ छ । 

उनले भने, ‘२०४६ सालमा मुढे शनिश्चरेदेखी दोभान सम्म मुआब्जा बाँडियो सडकका लागि । त्यतिबेला हामीलाई हाम्रो गाउँठाउँ बन्ने भने भनेर खुशी लागेको थियो तर, ०४८ सालमा परियोजना बन्द भयो, त्यतबेला निकै दुःख लागेको थियो । हाम्रो गाउँ बन्छ भने हामी जति थोरै दिएपनि तयार छौँ । यति ठूलो योजना छ, यसले हाम्रो गाउँ मात्र होइन देश नै बन्छ । त्यसैले हामीले छोडिदिएका छौँ ।’ 

पटकपटक आलटाल र अवरुद्ध हुँदा सबैलाई निराश बनाएको यस आयोजनाको अहिलेको गतिले सबैलाई आशावादी बनाएको छ । निर्धारित समयमै यो आयोजना पूरा भएको खण्डमा मुलुककै सबै भन्दा बढी विद्युत उत्पादन हुने जलविद्युत गृह निर्माण हुनेछ । जसका कारण मुलुकबाट विद्युत संकटको युगको पनि अन्त्य हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 5 =