राहत माग्दै वडाध्यक्षको घर अगाडि धर्ना

चैत्र २४, सुनसरी। दुहबी नगरपालिका-३ का स्थानीयले वडाध्यक्षको घरमा अगाडि धर्ना दिएका छन्। घरमा खाने कुराको अभाव हुन थालेपछि उनीहरू ‘लकडाउन’को अवज्ञा गर्दै धर्ना दिएका हुन्। उनीहरूले छिटोभन्दा छिटो राहतको व्यवस्था गर्न माग गरेका छन्।   

कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले चैत्र ११ गते देशभर लकडाउन गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले लकडाउन तेस्रो हप्ता पुर्‍याएको छ। लामो समयसम्म लकडाउन गरिएपछि श्रमिक तथा विपन्न परिवारहरूलाई दैनिक जीवन निर्वाहमा कठिनाइ उत्पन्न भएको छ।   

दैनिक जीवन निर्वाहमा कठिनाइ उत्पन्न भएपछि दुहबीका स्थानीयले धर्ना लिएका हुन्। लकडाउन लम्बिँदा समेत सरकारले राहत नदिएकोमा उनीहरू आक्रोशित बनेका हुन्। आज राहत माग्दै श्रमिक तथा विपन्न परिवारहरू वडाध्यक्षको घरमा धर्ना लिन पुगेका हुन्।   

स्थानीय कल्पना भण्डारीले घरमा खाने कुराको अभाव हुन थालेको सुनाइन्। ‘आफू ज्यालादारीको लागि उद्योगमा जाँदा गार्डले फर्काइ दिन्छ। घरमा खाने कुरा सकियो। सबै बन्द छ। हामी कता जाने। के गरी खाने,’ उनले दुखेसो सुनाइन्। तत्काल सरकारले राहतको व्यवस्था गरिदिनु पर्ने उनीहरूको माग छ। राहत तत्काल नदिए नगरपालिका घेर्ने उनीहरूले चेतावनी दिएका छन्।   

वडाध्यक्ष माधव भण्डारीले गरिब तथा विपन्न परिवारलाई राहत बाँड्ने तयारी रहेको जानकारी गराए। नगरपालिकाले गरिब तथा विपन्न परिवारको लगत सङ्कलन गरिसकेकोले अब छिट्टै राहत दिने तयारी भएको उनले बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =