भारत जाँदा स्वास्थ्य मन्त्री फर्किँदा कानुन मन्त्री, अब के गर्लान् यादव ?

मंसिर ७, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सोध्दै नसोधी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए । मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका यादव आक्रोशित हुँदै शुक्रबार फर्किएका छन् ।
उनी नआउँदै देशभित्र यो प्रश्न उब्जिएको छ, अब उनी के गर्लान् ? उनको पार्टी समाजवादीमा यसै विषयमा मतभेद सुरु भइसकेको छ । कोही सरकार छाड्नुपर्ने तर्कमा छन् भने कतिपय अझै हेर्नुपर्ने धारणामा ।
समाजवादीका अर्का अध्यक्ष डा.बाबुराम भट्टराई तत्काल सरकारबाट बाहिरिनुपर्ने पक्षमा रहेको छन् । डा.भट्टराई यादवको मन्त्रालय परिवर्तनमा प्रधानमन्त्रीको शैली निरंकुश देखिएको भन्दै यसबारे गम्भीर समीक्षा गर्नुपर्ने अडानमा छन् । समाजवादी पार्टी सरकारमा सामेल नहोस् भन्ने सोच राखेकै कारण पनि फर्कनुको विकल्प नभएको सुझाव भट्टराईको छ ।

उपप्रधानमन्त्री यादव निकट समाजवादी पार्टीका नेता डा.शिवजी यादव मन्त्रालय हेरफेर हुँदैमा सरकारबाट बाहिरिनुपर्ने तर्क सही नभएको बताउँछन् । डा.यादवले आफूहरू सरकारबाट बाहिरिएमा राजपा सरकारमा जाने दाबी गरे ।
उनले राजपालाई सरकारमा जान नदिइने बताए । संघीय सरकारमा राजपा सहभागी भएलगत्तै प्रदेश २ मा समेत नेकपा र राजपा मिलेर नयाँ सत्ता समीकरण निर्माण हुन सक्ने उनको अनुमान छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।








