थारू समुदायका महिलाले मंगलबार जितिया पर्व विशेष रुपमा मनाउँदै

“असोज १६, काठमाडौं । आदिवासी थारू समुदायका महिलाले मंगलबार जितिया पर्व विशेष रुपमा मनाउँदै छन्। यो पर्व सोमबारदेखि नै सुरु भएको हो । आफ्ना सन्तान तथा परिवारको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दै विशेष गरी थारु महिलाले यो पर्व मनाउने गर्दछन् । असोज कष्णपक्षको सप्तमीदेखि नवमीसम्म यो पर्व मनाइन्छ । सप्तमीको दिन नहाय खाएर यो पर्व सुरु हुन्छ ।
नहाय खाने दिन (सोमबार) वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेका छनन् । यस पर्वमा नहाय खाएको दिन अनिवार्य रुपमा वर्तालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ ।
पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन (मंगलबार) वर्तालु महिला २४ घण्टा लामो निराहार उपवास बस्ने गर्दछन् । उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ ।
यस पर्वको अवसरमा ठाउँ–ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरिन्छ । पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अर्घ्य दिएर पर्वको समापन गर्ने गरिन्छ ।
थारू महिलासभा काठमाडौँ उपत्यका समितिले मङ्गलबार महोत्सवकै रूपमा कार्यक्रम गरी जितिया पर्व मनाउँदै छ । समितिका अध्यक्ष तारा चौधरीले नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मङ्गलबार ‘थारू राष्ट्रिय जितिया महोत्सव’ आयोजना गरिएको जानकारी दिइन् । बानेश्वर र राष्ट्रिय नाचघरमा समेत जितिया विशेष कार्यक्रम आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।”








