प्रदेश राजधानी सार्न लागिएको भन्दै सांसदद्वारा विरोध

विराटनगर, असोज १५ । प्रदेश नं १ को स्थायी राजधानी अन्यत्र राख्ने तयारी भईरहेको भन्दै मोरङ जिल्लाका संघीय र प्रदेश सांसदहरुले विरोध जनाएका छन् ।

प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले राजधानी विराटनगरबाट सार्नका लागि भित्री रुपमा तयारी गरेको संकेत सार्वजनिक भएपछि संघीय र प्रदेश सांसदहरुले विरोध जनाएका हुन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको अगुवाईमा आयेजना गरिएको छलफल कार्यक्रममा स्थायी राजधानीका लागि आवश्यक पूर्वधार समेत प्रयाप्त रहेको विराटनगरलाई राजधानी बनाउन उनीहरुले प्रदेश सरकारसँग माग गरेका छन् ।

छलफल कार्यक्रममा पूर्व आपूर्तिमन्त्री एवम् संघीय सांसद शिवकुमार मण्डलले सुरक्षालाई बहाना बनाएर राजधानी अन्यत्र सार्ने कुरा मान्य नहुने बताए । संघीय सांसद अमनलाल मोदीले राजधानी निर्णय गर्ने बेलामा फेरी चलखेल हुन खोजेको आरोप लगाए । सांसद मोदीले विभिन्न अलग अलग स्थानमा मन्त्रालय राख्नु संघीयताको मर्म नभएको दावी गरे ।

नेपाली काग्रेसका केन्दीय सदस्य डा. शेखर कोइरालाले आर्थिक, व्यपारिक ,सामाजिक र सस्कृति पृष्टभूमी बोकेको विराटनगर राजधानीका लागि उपयुतm भएकैले काग्रेस सरकारले विराटनगरलाई अस्थायी राजधानी घोषणा गरेको दावी गरे ।

नेकपाका तर्फबाट प्रदेश सांसद रहेका सावित्राकुमार रेग्मी, कुलप्रसाद साम्बा र योशदा अधिकारीले विराटनगर राजधानी नबनाउने योजना बनाएमा आफुहरुलाई मान्य नहुने बताएका थिए ।

संघीय समाजबादी फोरमका प्रदेश सांसद जयराम यादवले पनि स्थायी राजधानी विराटनगरको विकल्प हुनै नसक्ने बताए । उनले विराटनगरको विकल्प खोजिएको खण्डमा त्यस्तो निर्णयलाई अल्पमतमा पर्ने पक्षमा आफू क्रियाशिल हुने बताए ।

नेपाली काँग्रेसका संसदीय दल नेता केदार कार्कीले राजधानी विराटनगरको विकल्प सोच्न नहुने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यद्धय डा. शेखर कोइराला, अमृत अर्याल, नेकपाका केन्द्रिय सदस्यहरू विनोद ढकाल, महेश रेग्मी, संघीय समाजवादी फोरमका पार्टी अध्यक्ष राजकुमार यादव, राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष मोहमद कादिर लगायतको सहभागीता रहेको थियो ।

प्रदेश नं १ को स्थायी राजधानीको विषयलाई टुग्याउन सोमवार नेकपाले संसदीय दलको बैठक समेत राखेको छ । तत्काललाई नाम नटुंगिएको खण्डमा स्थायी राजधानीको बिषय भने टुग्याएर अगाडी बढ्न नेकपाले संसदीय दलको बैठक आह्वान गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =