निर्मला प्रकरणबारे बिमलेन्द्र निधिले भने– ‘हत्यारा पत्ता नलाग्नु भनेकै राज्यको संलग्नता हुनु हो’

“
दाङ, असोज १४ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारको नियतमाथि प्रश्न राख्ने ठाउँ प्रशस्त भएको बताएका छन् ।
प्रेस यूनियन दाङले आइतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा काँग्रेसका उपसभापति निधिले सरकारले संघीय व्यवस्थालाई ध्वस्त पार्न खोजेको भन्दै सरकारको तत्कालीन गतिविधिमाथि प्रश्न राख्ने ठाउँ प्रशस्त भएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा निधिले संघीय व्यवस्थाले निर्दिष्ट गरेका कुनै पनि काम वर्तमान सरकारले अहिलेसम्म गर्न नसकेको आरोप लगाए । संघीय व्यवस्था नै ध्वस्त हुने हो कि भन्ने आशंका कांग्रेसमा बढ्दै गएको बताउँदै उनले भने, ‘अहिलेसम्म प्रदेश सरकारको कन्ट्रोलमा राज्यको कुनै पनि निकाय छैन, यसको संकेत के हो त ?’
देशमा बढिरहेका आपराधिक घटनाका दोषी राज्यले पक्राउ गर्न नसक्नुमा ती घटनाहरुमा राज्यकै संलग्नता रहेको दावी गर्दै कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डबारे निधिले भने ‘अहिलेसम्म हत्यारा पत्ता नलाग्नु भनेकै त्यो घटनामा राज्यको संलग्नता हुनु हो ।’
वर्तमान सरकारको गतिविधिका कारण नागरिक आजित बनिसकेको भन्दै वर्तमान सरकारको असफलता सत्तारुढ पार्टीकै नेताहरुको आलोचनाले प्रष्ट पारेको समेत बताए ।
“








