‘पराजित षड्यन्त्रकारीहरु सरकारलाई घेराबन्दी गर्न खोज्दैछन्’

विराटनगर, असोज १४ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले शान्ति सुरक्षा खल्बल्याउने एवम् अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारबाही गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्ने क्रममा गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले देश टुक्र्याउन खोज्ने, शान्ति सुरक्षा खल्बल्याउने एवम् अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताएका हुन् ।

‘विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको छ । मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्ने राष्ट्रघातीलाई सरकारले कारबाही गर्छ ।’ उनले भने ।

वर्तमान सरकारले राम्रो काम गरिरहेकाले पराजित तथा विगतका षड्यन्त्रकारीले अत्तालिएर सरकारलाई विभिन्न किसिमले घेराबन्दी गर्ने काम गरिरहेको उनको भनाइ छ ।

मन्त्री थापाले विगतमा देशमा हुने गरेका बम विस्फोटन, बन्द हडताल लगायतका कार्य नियन्त्रणमा आएको दाबी गर्दै वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिएको धारणा व्यक्त गरे ।

साथै उनले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने बताए । पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषद्मा छलफलपछि सार्वजनिक गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 11 =