आजदेखि विशेष ट्राफिक सुरक्षा योजना: मनपरी भाडा असुल्नेलाई ठगी मुद्दा, द्रुत गतिमा सवारी हाँक्नेलाई कारबाही !

“
काठमाडौं, असोज १४ । नेपालीहरुको महान चार्ड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस वर्षको बडादशैँ, तिहार र छठ पर्वलाई दुर्घटनारहित बनाउन ‘विशेष ट्राफिक सुरक्षा योजना–२०७५’ सार्वजनिक गरेको हो ।
दशैँमा करीब ३० लाख यात्रु बाहिरिने अनुमान गरिएको छ । महाशाखाका अनुसार, गत वर्ष सार्वजनिक यातायातका साधनहरुबाट मात्र २५ लाख यात्रु बाहिरिएका थिए । दशैँमा ट्राफिक जाम हुन नदिन ६० स्थानमा ट्याक्सी स्ट्याण्ड, २९८ स्थानमा बस विसौनीको व्यवस्था गरिएको छ ।
मिटरमा जान नमान्ने, बढी भाडा असुल्ने र मोलमोलाई गर्ने ट्याक्सी र बस चालकलाई ठगी मुद्दा चलाउने योजना रहेको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए ।
उनले उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरु नागढुङ्गा–थानकोट, बल्खु–फर्पिङ, जगाते–साँगा, बालाजु– मुड्खु क्षेत्रमा नियमित चेकजाँच राखिएको बताए ।
त्यस्तै, अग्रिम टिकट बुकिङ खुला गरेको हप्ता दिन नबित्दै २८ हजार टिकट बिक्री वितरण भइसकेको जानकारी यातायात व्यवसायीहरुले दिएका छन् । कतिपय रुटमा टिकटको अभाव देखा परेपछि यात्रुको सुविधाका लागि चारसय बस थप्ने योजना रहेको बताइन्छ ।
दशैँ तिहारमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि एक हजार चार सय ट्राफिक प्रहरी कर्मचारी परिचालन हुनेछन् । मदिरा सेवन गरी सवारी चलाउने, द्रुत गतिमा सवारी कुदाउनेदेखि क्षमता भन्दा बढी यात्रु राख्नेविरुद्ध कडा कारबाहीको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।
लामो दुरीका कुनैपनि बसले मुढा र ग्यालरीमा यात्रु राख्न पाउने छैन भन्दै महाशाखा प्रमुख पन्तले थपे–ग्यालरी पुरै खाली राख्नुपर्ने छ । आजबाट सुरु हुने यो अभियान छठ पर्वसम्म रहने छ । सर्वसाधारणको बाक्लो भिड लाग्ने न्यूरोड, खिचापोखरी, असन इन्द्रचोक र सुन्धारा लगायतका व्यापारिक क्षेत्रमा पार्किङलाई व्यवस्थित गर्न महानगरपालिकासँंग छलफल भइरहेको जनाइएको छ ।
यसैगरी रिङरोडभित्र गुड्ने सार्वजनिक यातायातका सवारी साधनहरुलाई यात्रु कुरेर नबस्न आग्रह गरिएको छ ।
“








