दुबईबाट फर्किएका अर्का एक व्यक्तिमा कोरोनाको आशंका, स्वाब परीक्षण गर्न काठमाडौँ पठाइयो

चैत्र १८, नुवाकोट । कोरोना भाइरसको आशंकामा नुवाकोटबाट एक जनाको स्वाब परीक्षण गर्न  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौँ टेकुमा पठाइएको छ । नुवाकोट घर भई गत चैत ४ मा दुबईबाट आएका व्यक्तिमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि सो परीक्षण गर्न सो प्रयोगशालामा पठाइएको त्रिशूली अस्पतालले जनाएको छ ।  

अस्पतालका मेडिकल सुपरिटेन्डन डा. रेमकुमार राईको अनुसार अस्पतालको सम्पर्कमा रहेर घरमै रहेका ती व्यक्तिमा गत आइतबारदेखि ज्वरो आएपछि सोमबार साँझदेखि अस्पतालको आइशोलेशनमा राखेर निगरानीमा राखिएको छ ।  

अहिले उनको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ  । सो भाइरसको आशंकामा जिल्लाबाट नमूना सङ्कलन गरी परीक्षण गर्न पठाइएको यो पहिलो पटक हो । 

यसैबीच, यही चैत ९ मा भारतबाट आएका एक जनामा पनि आइतबारदेखि उच्च ज्वरो आएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइएको छ ।  

काठमाडौसँग सीमा जोडिएका स्थानका ती व्यक्ति भारतबाट ९ गते आएपनि काठमाडौमा बसेको र त्यहाँ रहदाँ नै ज्वरो आएपछि आरामको लागी चैत १४ मा नुवाकोट स्थित घर आएका बताइएको छ । 

घरमा आएदेखि नै चिकित्सकसँगको निरन्तर फोन सम्पर्कमा रहेका उनलाई ज्वरो र श्वासप्रश्वासमा थप समस्या देखिएपछि त्रिशूली अस्पतालका चिकित्सकले काठमाडौं रिफर गरेका थिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =