प्रदेश नम्बर ७ को नाम र राजधानी तोकियो, काँग्रेसले हालेनन् मत

“
धनगढी, असोज १२ । प्रदेश नम्बर ७ को नाम र राजधानीको टुंगो लागेको छ ।
शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकले मतदान प्रक्रियाबाट प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ को तेघरी राख्ने निर्णय गरेको हो ।
प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको विशेष समितिले सिफारिस गरेको प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी माथि प्रमुख विपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले असहमति जनाउँदै शुक्रबारको पहिलो बैठक अवरुद्ध गरेका थिए ।
सत्तापक्ष र प्रतिपक्षबीच नाम र राजधानीका बारेमा सहमति नभएपछि ३ बजे बसेको बैठकले मतदान प्रक्रियाबाट नाम र राजधानी तोकेको हो ।
प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने पक्षमा ३८ मत खसेको थियो। विपक्षी दलका १४ सांसदले भने मत हालेनन्। संसद बैठकले दुई तिहाई मतका साथ प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने निर्णय गरेको हो।
“








