‘इन्टु मिन्टु लन्डनमा’ नून नहालेको तरकारी जस्तो

“
असोज, ११, काठमाडौँ । नेपाली फिल्महरुले इ“टा थप्नु पर्ने आजको आवश्यकता हो, तर संख्या मात्र थपिएको थपिएकै छन् । अनि थपिएका छन् असफल निर्माता, निर्देशक, कलाकारहरुको संख्या ।
प्रेमको उही सतही कथा बोकेर अर्को फिल्म नेपाली हलहरुमा रिलिज भएको छ । फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ फेरि अर्को एउटा संख्या बढाउने भन्दा बढी साबित हुन सकेन ।
‘इन्टु मिन्टु लन्डनमा’ को सबैभन्दा कमजोर पक्ष भनेको यसको कथा नै हो । उही वर्षौं देखि देख्दै आएको प्रेमको सतही र निम्छरो प्रस्तुतिको कथा अझ भनौं ८०–९० को दशकको भारतीय फिल्महरुमा प्रयोग हुने थोत्रो ‘क्लिसे’ प्रयोग गरिएको कथा हो ‘इन्टु मिन्टु लन्डनमा’ । कथामा दम त छैन नै, प्रशस्त त्रुटीहरुको भरिपूर्ण छ ।
कथाको शुरुवातमा क्यामेरा उघ्रिदा लन्डनको दृश्यले केही बेर आँखालाई शितलता प्रदान गर्दछ । तर जसै कथा अघि बढ्छ, दिमागमा लू चल्छ ।
फ्लासब्याकले त दर्शकलाई भाउन्न छुटाउँछ । यस्तै दशाबाट गुज्रिने ‘इन्टु मिन्टु लन्डनमा’ को क्लाईमेक्स त झन बकवास नै छ । त्यहाँ कुनै तर्कले काम गर्दैन ।
कथामा मुख्य चरीत्रको नाम इन्टु र मिन्टु फिल्मको शिर्षक राख्नलाई मात्र राखिएको जो कोहीलाई थाहा हुन्छ । किनकि यो नाम भन्दा बढी प्राथमिकता निर्माण पक्षले ईशान र मीरालाई नै दिएको छ । र, फिल्ममा यो नामलाई नै स्थापित गर्न खोजिएको छ ।
इन्टु र मिन्टु त कलाकारको नाम पनि नराखिए अनर्थ हुन्छ भने मात्र राखिएको छ । कथामा इन्टु र मिन्टु मुख्य चरीत्रमा छन् । तर यी दुई चरीत्रको पृष्ठभुमि प्रष्ट छैन । इन्टु गीत गाउँछन् भन्ने थाहा हुन्छ । तर उनी रेष्टुरेन्टका मेनेजर हुन् भन्ने उनले फिल्मभरि बारम्बार भन्नुपर्छ । मिन्टुलाई बेलायतका लागि नेपाली राजदुतको छोरी बनाईएको छ । तर उसको पृष्ठभुमिलाई प्रष्ट पारिएको छैन । उनी बेलायत केवल इन्टुलाई भेट्न मात्र आएको जस्तो देखिन्छ । सामान्यतयाः यो इन्टु र मिन्टुको प्रेमको कथा हो भन्ने बुझिन्छ, तर फिल्मभरि ती दुई बीच प्रेम नै देखिन्दैन ।
कलाकारका रुपमा धिरज मगरमा कोरियाली स्टारको झल्को आउँछ । तर चकलेटी हिरोको रुपमा औसत देखिएका छन् । बेलायतमा देखिने धिरज र नेपाल आएका धिरजको चरीत्र स्वाभाविक देखिदैन ।
साम्राज्ञी राज्य लक्ष्मी शाहको सँधैजस्तै चरीत्र दोहोरिएको छ । यसअघि फिल्म ‘कायरा’ मा देखिएकी साम्राज्ञी र ‘इन्टु मिन्टु लन्डनमा’ देखिएकी साम्राज्ञीमा कुनै अन्तर छैन । उस्तै बोली, लवज, आवाज हेर्न सुन्न फेरि पनि दर्शक बाध्य छन् । उनले फिल्म भरि बुवाका लागि प्रयोग हुने बाबा, पापा, ड्याड, आदि सबै प्रयोग गरेकी छन् । जुन स्वाभाविक हैन । सामान्यतयाः एउटा चरीत्रले कहिले बुवा कहिले पापा, कहिले ड्याड भन्दैन, असामान्य चरीत्र बाहेक । खासगरि मिन्टु चरीत्र कहिल्यै पनि उत्साहित नै देखिन्दैन । न पुर्वाद्धमा न उत्तराद्धर्ध नै उनलाई स्वाभाविक देखिएको छ । अभिनयको स्तर सामान्य मात्र छ उनको । उनको ग्ल्यामरले मात्र फिल्ममा ईटा थपिन्दैन ।
‘इन्टु मिन्टु लन्डनमा’ आकाशको चरीत्रमा सरुक ताम्राकारलाई प्रस्तुत गरिएको छ । अघिल्लो रिलिज फिल्म ‘मेरी मामुु’ मा सामान्य मात्र देखिएका सरुकलाई यो फिल्ममा आफूलाई पुष्टि गर्ने ठाउँ त थियो । तर, त्यसलाई पटकथाले स्थान नदिँदा उनले उल्लेख्य केही गर्न सकेका छैनन् ।
चरीत्रमा उनी फिट देखिएका थिए, तर अभिनय र चारित्रीकरणमा भएको कमजोरीले उनलाई अस्वाभाविक बनाएको छ । अनुहार र उचाईले साथ दिए पनि शरीरले साथ दिएन । उनमा सैनिक प्रवृत्ति देखाउनबाट निर्देशक असफल छन् । सैनिकमा देखिने अनुशासन र एक खालको एट्टीच्युड उनमा देखिदैन । जसले दर्शकलाई विश्वास गर्न असहज हुन्छ । नेपाली सैनिकको अत्यन्तै सफल मेजरका रुपमा ‘ईन्ट्रोड्युस’ गराईएका सरुकले हुनेवाला श्रीमतीलाई सैनिक तालिम केन्द्रको चउर तिर घुमाई हिँडेको अलि बिझ्छ ।
फिल्ममा कलाकार चयन गर्न कञ्जुस्याईँ गरिएको छैन । सेलिब्रिटी पाईलट विजय लामा, परिचित मिडियाकर्मी दिलभुषण पाठक, पहिलो मिस नेपाल रुबि राणा जस्ता व्यक्तित्वलाई कलाकारका रुपमा प्रस्तुत गरिएको छ । उनीहरुलाई गराईए जति गरेका पनि छन् । तर कथा, पटकथा र चारित्रीकरणमा भएको कमजोरीले उनिहरु पनि कमजोर देखिएका छन् ।
इन्टुको बुवाको रुपमा बिजय लामालाई प्रस्तुत गरिरहँदा उनिहरु बीच बाबुछोराको भावनात्मक सम्बन्ध स्थापित नै हुन सकेको छैन । जबकि आमा नभएको घरका बाबुछोरा थिए उनिहरु । यद्यपि विजय लामाको अभिनय सन्तोषजनक छ ।
त्यस्तै मिन्टुको बुवाको रुपमा दिलभुषण पाठकलाई ‘कास्ट’ गरिएको छ । उनको चरीत्र बेलायतका लागि नेपालको राजदुत बनाईएको छ । बेलायतसँग नेपालको २ सय वर्ष पुरानो सम्बन्ध रहेको पनि भनिन्छ फिल्ममा । तर, दिलभुषणको उचाई जस्तै चरीत्रको उचाई त्यही अुनुरुप प्रस्तुत हुन सकेको छैन । दिलभुषण कलाकार हैनन्, तर उनलाई गराईए जत्ति गरेका छन् । त्यत्तिसम्म सन्तोष मान्न सकिन्छ । तर चरीत्रका हिसाबले कथा, पटकथा र प्रस्तुतिकरणमा उनलाई अन्याय भएको छ । क्लाईमेक्समा त उनलाई यसरी नजरअन्दाज गरिएको छ कि चरीत्र नै निरिह लाग्छ ।
मिन्टुकी आमा मिस नेपाल रुबि राणालाई त्यति स्थान दिईएको छैन । उनले पनि चरीत्र अनुसार त ठीकै गरेकी छन् । अब गर्ने ठाउँ नै नभए पछि गर्ने चाहिँ के भन्ने प्रश्न टड्कारो रुपमा उठछ ।
आकाशका पिताका रुपमा रिटायर्ड आर्मी अफिसरको चरीत्रमा छन् पुराना नायक अर्जुन श्रेष्ठ । तर उनलाई न कथाले ठाउँ दिएको छ न उनले आफ्नो ‘स्पेश’ सिर्जना गरेका छन् । क्लाईमेक्समा त यी यतिबिघ्न निरिह छन् कि लाग्दैन उनी बिहे हुँदै गरेका बेहुलाका पिता हुन् ।
क्यामेराले इन्टु र मिन्टुलाई मात्र यति धेरै पच्छ्याउँछ कि अरु चरीत्रलाई पूरै नजरअन्दाज गरेको छ । जसले ती चरीत्रहरु एकातिर स्थापित हुन पाएका छैनन भने अर्कातिर स्वयं इन्टु र मिन्टु चरीत्रलाई पनि सहयोग पुगेको छैन । आखिरमा सहायक चरीत्रहरु भनेका मुख्य चरीत्रलाई बलियो बनाउन आउने चरीत्रहरु हुन् । तर सिंगो नेपाली फिल्मले यो कुरामा त्यत्ति ध्यान पुर्याएको पाईदैन ।
फिल्ममा साह्रै खट्किने केही प्रसंगहरु पनि आउँछन् । बेलायतका लागि नेपालका राजदुतको कार्यकक्षको रुपमा स्थापित गरी अघिल्लो पटक विदेशी मिडिया सामु अन्तर्वार्ता समेत दिईएको कक्षमा पछिल्लो दृश्यमा राजदुतकी छोरी रात्रीपोशाकमा आँखा मिच्दै आउँछिन्,
उनलाइ भेट्न इन्टु आएका हुन्छन् । त्यो प्रसंग अस्वाभाविक मात्र होईन, आँखामा बिझ्छ। त्यतिमात्र होइन, यसले स्वाभाविक रुपमा नेपाली राजदुतावासको मर्यादाको पनि खिल्ली उडाएको छ ।
त्यस्तै मिन्टुले इन्टुको कोठाको ढोकामा झुण्ड्याएको घण्टी ब्रेकअप पछि इन्टुलाई नै प्याक गरेर फिर्ता पठाएको हुन्छ । पछि त्यही घण्टी फेरि झिकिन्छ । यस्ता त्रुटीहरु फिल्मभरि नै पाईन्छ । यो एउटा उदाहरण मात्र प्रस्तुत गरिएको छ ।
इन्टु र मिन्टु क्याम्पिङमा गएको दृश्य पनि देखाईएको छ । त्यहाF अरु साथीहरु पनि स्थापित गर्न खोजिएको छ । तर, ती साथीहरुसँग कुनै सम्बन्ध नै स्थापित भएको छैन । त्यो दृश्यमा इन्टु भन्दा मिन्टुमा बढी उन्माद र उत्तेजना रहेको भन्ने प्रस्तुत गर्न खोजिएको छ ।
फिल्मकी निर्देशक रिनाशा बान्तवा मुलतः कोरियोग्राफर हुन् । सामान्यतयाः निर्देशकको पृष्ठभुमिले उनलाई निर्देशनमा पनि प्रभाव पारिरहेकै हुन्छ । जस्तो कि कुनै सिनेमाटोग्राफर निर्देशक भयो भने उनमा सिनेमाटोग्राफीले सशक्त ढंगले प्रभाव पारेको हुन्छ । त्यस्तै यो फिल्ममा पनि निर्देशक रिनाशालाई कोरियोग्राफर रिनाशाले व्यापक दबाव सिर्जना गरेको छ । फिल्ममा आउने गीत तथा नृत्यहरुमा त्यो महशुश गर्न सकिन्छ । ‘जुरायो जुरायो’ बोलको गीत त झन जबरजस्त रुपमा राखिएको छ ।
‘इन्टु मिन्टु लन्डनमा’ कोरियाली फिल्म शैलीबाट प्रभावित भन्दा फरक पर्दैन । फिल्ममा केही राम्रा पक्षहरु पनि छन् । दृश्य सुन्दर छ, नेपालमै बसेर लन्डन घुम्न पाईन्छ । लोकेशन राम्रा छन्, कलाकार राम्रा छन्, कस्ट्युम राम्रा छन्, अरु पनि केही राम्रा राम्रा कुरा छन् । तर पनि फिल्म नून नहालेको तरकारी जस्तो बनेको छ ।
अर्को पल्ट नून पनि हाल्न जरुरी रहेछ भन्ने निर्माण पक्षले बुझे राम्रो फिल्म आउला भन्ने अपेक्षा सम्म गर्न सकिन्छ ।
कुनै बेला नेपालमा यस्तो पनि थियो, परालको आगो, बासुदेव जस्ता कथानक फिल्म पनि बन्थे जसमा कथा पनि हुन्थ्यो । अरुको कुरा छाडौं, यी दुई बीचमा मात्र तुलना गरौं त– दुबैमा कति पृथकता छ भन्ने हामी आफै महशुश गर्न सकिहाल्छौं । अहिले हरेक फिल्ममा ‘उही’ ।
“








