प्रेस युनियनका ४२ सदस्यको सामुहिक राजिनामा

“
विराटनगर, असोज, ११ । नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नेपाल प्रेस युनियन मोरङका ४२ सदस्यले राजीनामा दिएका छन् । प्रेस युनियन नेतृत्व चयनमा बिवाद बढेपछि जिल्ला अधिवेशनको मुखैमा भोजराज बस्नेत नेतृत्वमा पूर्वी मोरङका ४२ सदस्यहरुले सामूहिक रुपमा आज राजीनामा दिएका हुन् ।
प्रेस युनियन मोरङको शुक्रवारबाट बिराटनगरमा हुने जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन हुनेछ । प्रेस युनियनको जिल्ला सभापतिमा कुमार लुईटेल र भोजराज बस्नेतले दाबेदारी प्रस्तुत गरेका छन् । लुईटेल वर्तमान कार्यसमितका उपसभापति हुन् भने बस्नेत गतअधिवेशनमा सभापतिमा मीनकुमार नवोदितसँग २ मतले पराजित भएका थिए ।
अन्नपूर्ण पोष्ट प्रदेश ब्यूरो प्रमुख समेत रहेका लुईटेललाई डेढ बर्ष अघि पत्रकार महासंघ मोरङको सचिवमा उठाउने तयारी गरेपनि अन्तिम समयमा प्रेस युनियनले ब्याक गराएको थियो । पछिल्लो समय विराटनगरबाट पत्रकारितामा सकृय रहेका लुईटेल यसपटक सभापतिबाट ब्याक नहुने बताउँछन् । पत्रकार महासंघ मोरङको निर्वाचनका बेला अनन्त न्यौपानेलाई अध्यक्षमा उठाउने बेला भोजराज बस्नेतलाई प्रेस युनियनको सभापतिको जिम्मेवारी दिने भद्र सहमति भएको तर सहमति कार्यन्यन गर्ने अवस्था नरहेकाले सामूहिक राजीनामा दिएको बस्नेतले बताए ।
जिल्लाको नेतृत्व सदरमुकाम बाहिर दिने सहमति भएको तर अहिले विराटनगरमा नै राख्ने षडयन्त्र भएको बस्नेतको आरोप छ । राजीनामा दिनेमा बस्नेतसहित दिनेश गिरी, राजु बस्नेत, केदार अधिकारी, सञ्जय गुरुङ, रेखा गुरुङ, अनु निरौला, दिपा बिष्ट, बबिता राई, सञ्जय राई, डम्बर बिक, भुवन कार्की, अनिल बराल, हिमाशुं राय, बिबेक मिश्र, गणेश पोखरेल, गोपाल काफ्ले र भिमराज अधिकारी, हरि कोइराला, रुपेन्द्र शेर्मा, तेजन खडका, दुर्गाप्रसाद खतिवडा, प्रशान्त निरौला,किशोर श्रेष्ठ लगायत रहेका छन् । यता युनियनका सभापति नबोदितले भने नेतृत्वका लागि सहमतिको प्रयास भईरहेको बताएका छन । दुबै उम्मेदवारलाई आधा आधा कार्यकाल दिने गरी सहमति जुटाउने उनले जानकारी दिए ।
“








