क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको उपचार केन्द्र बनाउनुपर्छःसभामुख महरा

असोज १०, चितवन ।  सभामुख कृष्णबहादुर महराले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन ।

अस्पतालको १९ औंँ वार्षिकोत्सव तथा १४ औँं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको मात्र नभएर यस अस्पताललाई अन्तर्राष्ट्रियस्तरको नमूना अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।

सभामुख महराले चीन सरकारको सहयोगमा बनेको यस अस्पतालमा उपचारसँगै अध्ययन अनुसन्धान, पठनपाठनसमेत गराउनुपर्ने बताए । क्यान्सर अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्न आफूले पहल गर्ने समेत बताए । सरकार, निजी क्षेत्र र समुदाय मिलेर अस्पताल विकास गर्नुपर्ने उनको भनाइ थियो ।

सभामुख महराले, “विकास निर्माण, देशव्यापी रुपमा भएका सामाजिक, सांस्कृतिक विकृति, विसङ्गतिका कुरा पनि छन्, यसप्रति संसद् असाध्यै सतर्क छ, ती विषयलाई ध्यानाकर्षण गर्न मेरो तर्फबाट कुनै कसर बाँकी हुने छैन ।”

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अस्पताललाई नमूना बनाउनुपर्ने बताए । विदेशीसमेत उपचार गर्न आउने यस अस्पताललाई अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए ।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता तेजेन्द्र खड्का, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, सङ्घीय समाजवादी फोरमका जिल्ला अध्यक्ष प्रेम भुजेल, अस्पतालका निवर्तमान अध्यक्ष डा प्रकाशराज न्यौपाने, क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्केलगायतले कार्यक्रममा बोलेका थिए ।

कार्यक्रममा अस्पताललाई उल्लेखनीय योगदान पु¥याएको भन्दै अस्पतालका निर्वतमान अध्यक्ष डा प्रकाशराज न्यौपाने, क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेसहित विभिन्न विभागका कर्मचारीलाई सम्मान गरिएको थियो ।

विसं २०५७ असोज १० गतेबाट औपचारिक रुपमा सेवा दिन थालेको क्यान्सर अस्पतालमा हाल ४५० श्यया सञ्चालनमा रहेको कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले बताए । नेपालमा क्यान्सर अस्पताल स्थापना भएको आजको दिनलाई राष्ट्रिय क्यान्सर सतर्कता दिवसको रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =