नेपालको समृद्धिको ढोका भरतपुरले खोल्दैछ: अध्यक्ष प्रचण्ड

“
चितवन, असोज ७ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाले एकपछि अर्को गर्दै विकासका काममा ठूलो फड्को मार्दै गएको बताएका छन् । उनले नेपालको समृद्धिको ढोका भरतपुरले खोल्दै गएको बताए ।
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा बनेको तरकारी तथा फलफूल बजारको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले भने, ‘भरतपुरमा लगातार भइरहेको विकासले देशभरि नै सकारात्मक सन्देश दिएको छ, विकासको नमुना मोडेल भरतपुरले देखाएको छ ।’
‘यहाँ देशकै नमुनाको रुपमा सिटी हलको कुरा अगाडि बढेको छ, रिंगरोड, लिंकरोड, क्रिकेट रंगशाला, बनाउने दिशामा भरतपुर अगाडि बढेको छ’ उनले भने, ‘सिटी हल, रिंगरोड, लिंकरोड, क्रिकेट रंगशाला एकसाथ अगाडि बढ्छ ।’
चितवन जिल्ला विकासको काममा अगाडि बढ्ने जमर्को गर्ने जिल्लामा गनिएको उनको भनाइ थियो । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला चितवनमा बनाउने कुरा करिब करिब अन्तिम चरणमा पुगेको उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘मैले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गरेको छु, क्रिकेट रंगशालाको कुरा अगाडि बढ्छ, यो अन्तिम चरणमा पुगेको छ ।’
उनका अनुसार जलमार्ग र जलाशयको उपयोगको कुरा पनि भइरहेको छ । भैँसालोटनदेखि देवघाटसम्मलाई जलमार्गको रुपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । ‘यसका लागि तटबन्धसहित रिंगरोड भइदियो भने उपयुक्त हुन्छ । कार्यक्रममा नेपालको सिंगै समृद्धिको ढोका भरतपुरबाट खुल्ने मैले आशा र विश्वास लिएको छु’ अध्यक्ष दाहालले भने ।
भारत र चीनले पनि चितवन र भरतपुरलाई विशेष रुपमा हेरेको उनको भनाइ थियो । ‘म भर्खरै भारत र चीन गएर आएँ, छिमेकी देशहरुले भरतपुर चितवनलाई ध्यानपूर्वक हेरिरहेका मैले पाएँ’ उनले भने, ‘भरतपुर र चितवनको विकास कसरी हुन्छ, विकासका मोडेलह? कसरी अघि बढाइन्छ भनेर छिमेकी देशहरुले ध्यानपूर्वक हेरिरहेका छन् ।’
उनका अनुसार हामी राष्ट्रिय?पले नेतृत्व गर्नेहरु पनि यहाँ भएकोले पनि उनीहरुले चितवनलाई ध्यान दिएका होलान् । हामीले नयाँ पुस्तालाई केही दिनु छ ।
‘मैँले भरतपुर महानगरको रिंगरोडलाई मोटो रकम हाल्नको लागि अर्थमन्त्रीसँग कुरा गरेको छु । उहाँले भरतपुरको रिंङरोड र लिंकरोडलाई सक्नेजतिको रकम हाल्छु भन्नुभएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘चितवन धार्मिक पर्यटकको प्रचुर सम्भावना भएको जिल्ला हो, यसको लागि पनि स्थानीय सरकारले योजना बनाइरहेको जानकारी पाएको छु ।’
उनले भरतपुरलाई वैज्ञानिक तवरले व्यवस्थित सहर बनाउनुपर्ने बताए । उनले भने, ‘भरतपुरलाई देशकै नमुना सहरको रुपमा विकास गर्नुछ, भरतपुरले विकासको नमुना मोडेलको सन्देश देशभरि दिनुछ ।’
‘तरकारी तथा फलफूल थोक बजारको राम्रो उन्नति होस् भन्न चाहन्छु । मैले राष्ट्रिय अन्तराष्ट्रिय सबैतिर हुर्नुपर्छ, म चितवनको जनप्रतिनिधि भएको नाताले चितवनको विकासको निम्ति हुनेसम्म गर्छु, तपाइँहरुकै साथमा सैदव हुनेछु ।’
“








