‘सिके राउतले भन्दैमा मधेश स्वतन्त्र राष्ट्र हुन सक्दैन’ पूर्व मन्त्री बोहरा

“
असोज ५, काठमाडौं । २ दिन अघि स्वतन्त्र मधेशको नारा लगाउँदै २ नं. प्रदेशमा चर्को भाषण गरेका सिके राउतलाई पूर्व मन्त्री तथा राप्रपा (प्रजातान्त्रिक)का बरिष्ठ उपाध्यक्ष दीपक बोहराले एउटा ब्यक्तिले भन्दैमा मधेश स्वतन्त्र नहुने ठोकूवा गरेका छन् । मधेश इतिहासमा स्वतन्त्र मुलुक नभएको र बर्तमान अवस्थामा नेपालको अभिन्न अंङ्ग भएको अवस्थामा राउतले स्वतन्त्र मुलुकको नारा लगाउँदै आन्दोलन गर्न सान्दर्भिक नहुने बोहराले बताएका छन् ।
मकालु खबरसँग कुरा गर्दै बोहराले भने–‘९० प्रतिशत जनताले स्विकारेको संविधान मुलुकमा लागू भइसकेको अवस्थामा सिके राउतले मुलुकलाई नै टुक्राउने अभिब्यक्ति दिनु बर्तमान अवस्थामा सहि हैन ।’ उनले भने ।
बोहराले अहिलेको संविधानले सर्व वर्ग समुदाय र क्षेत्रको साझा प्रतिनिधित्व गरेको भन्दै कसैका कुरा छुटेको भए संविधानलाई संसोधन गरेर अगाडी जान सकिने बताए । ‘संविधान अपरिवर्तनीय हुँदैन, यदी कसैलाई अन्याय भएको छ भने, त्यसमा संसदले संविधान संसोधन गरेर न्याय गर्न सक्छ, तर मुलुक नै विखण्डन गर्नुपर्छ भन्ने अभिब्यक्ति आउनु ठिक हैन र अहिलेको सन्दर्भमा सान्दर्भिक समेत छैन ।’ उनले भने ।
उनले मधेश स्वतन्त्र हुन नसक्ने ठोकूवा समेत गरे । २ नं. प्रदेशका मधेशवादी दलहरु नै शासनसत्तामा रहेको अवस्थामा कसैले स्वतन्त्र मधेशको मुद्दा उठाउँदैमा त्यो पुरा नहुने उनले बताए । ‘२ नं. क्षेत्र जहाँ मधेशी जनताकै शासन रहेको छ, उनीहरु नै स्वतन्त्र मधेशको पक्षमा छैनन । उनले स्वतन्त्र मधेशको कुरा उठाउँदैमा त्यो सबै तराई मधेशका जनताको आवाज हुन सक्दैन ।’ उनले जिकिर गरे ।
पूर्वमन्त्री बोहराले अहिलेको समय देश विकास गर्न र मुलुकको आर्थिक स्तर उकास्न लाग्नुपर्ने औल्याएका छन् । मुलुक दशकौं सम्म राजनीतिक अधिकारका लागि अस्थिर भएकोले विकास र सुशासन कमजोर भएको भन्दै नयाँ संविधानले सबैलाई राजनीतिक अधिकार दिइसकेकोले अव देश विकासमा लाग्नुपर्ने बताएका छन् ।
२ दिन अघि स्वतन्त्र मधेशको नारा लगाउँदै सिके राउतले जनकपुरमा भाषण गरेका थिए । स्वतन्त्र मधेश गठबन्धनका बाँकेका नेता राम मनोहर यादवको प्रहरी हिरासतमा मृत्यु भएपछि राउतले सोको विरोधमा उक्त कुरा बताएका थिए ।
“








