मोनाकोको मैदानमा एथ्लेटिको मड्रिड विजयी

“एजेन्सी, असोज ३ । स्पेनिस क्लब एथ्लेटिको मड्रिडले यो सिजनको युरोपियन प्रतिस्पर्धामा विजयी सुरुवात गरेको छ ।
च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले मोनाकोलाई २–१ ले हराएको छ । अवे मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन डिएगो कोस्टा र जोसे गिमिनेजले गोल गरे ।
यस्तै मोनाकोका लागि ग्राण्डिसरले एक गोल गरे । १८ औँ मिनेटमा ग्राण्डिसरको गोलबाट मोनाकोले सुरुवाति अग्रता लियो । ३१ औँ मिनेटमा कोस्टाले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा जोसेले गोल गरेपछि एथ्लेटिकोले पहिलो हाफमा २–१ को अग्रता लियो । दोस्रो हाफमा दुवै तर्फबाट गोल भएन र एथ्लेटिको २–१ ले विजयी भयो । समूह ए अन्तर्गतकै अर्को खेलमा बोरुसिया डर्टमुण्डले क्लब बर्गलाई १–० ले हरायो ।
यस्तै समूह डी अन्तर्गत मंगलबार राति नै भएको खेलमा गालाटासारेले लोकोमोटिभ मस्कोलाई ३–० ले हरायो भने शाल्के र एफसी पोर्टोले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
“








