अदालतको आदेश फेरि पनि टेरेन सरकारले, प्रकाण्डलाई उदयपुर लग्दै

काठमाडौं, भदौ २९ । सर्वोच्च अदालतले विप्लव समूहको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई छाड्न सरकारलाई आदेश दिएपनि सरकारले फेरि अटेर गरेको छ । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता समेत रहेका विश्वकर्मालाई सर्वोच्च परिषरबाटै शुक्रबार पक्राउ गरिएको हो ।

शुक्रबार नै उनलाई उदयपुर पठाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वशन्त लामाले बताए ।

उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले उदयपुरमा विश्वकर्माविरुद्ध बम विस्फोट गराएको मुद्दा रहेको बताएका छन् । चुनावको बेला उदयपुरमा बम बिस्फोटमा परी कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित कार्यकर्ता घाइते भएका थिए । विश्वकर्मालाई प्रहरीले त्यहि घटनामा मुद्दा चलाउन लागेको हो ।

प्रकाण्डलाई हालसम्म पाँचवटा जिल्लामा मुद्दा चलाइसकिएको छ । काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर र दाङमा विभिन्न मुद्दामा मुद्दा चलाइएको थियो । अदालतले उनलाई तारेखमा छाड्न आदेश दिँदै आएको छ ।

शुक्रबारनै सर्वोच्च अदालतले विश्वकर्मालाई अदालतका मूख्य रजिस्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो ।

प्रकाण्डलाई सरकार तथा मातहतका पदाधिकारीले गैरकानूनी रुपमा थुनामा राखेको देखिएको र अदालतको आदेश छल्दै पटक–पटक पक्राउ गरिएकाले अदालत संवेदनशील भएको जनाएको छ ।

प्रकाण्डका भाइ विरेन्द्र विश्वकर्माले गैर कानूनी थुनामा राखेका भन्दै थुनाबाट मुक्त गरिपाउँ भनी बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

नेपालको संविधानले प्रत्याभुत गरेको वैयक्तिक स्वतन्त्रताको हकको उपभोग गर्नबाट बन्चित हुन गएको सर्वोच्चको आदेशमा जनाइएको छ ।
‘एउटै व्यक्तिको सन्दखर्भमा पटक पटक आदेश जारी गर्नु परेको सन्दर्भमा कहि यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन भन्ने आसंका भएको छ । विधिको शासन भएको लोकतान्त्रिक म्ुलुकमा यस्तो कार्य कदापी क्षम्य हुन नसक्ने र यस अदालतले गरेको आदेशको मर्यादा पालनाको लागि नेपालको संविधानको धारा १२८(४) को अधिनमा रही अन्य उपयुक्त आदेश समेत जारी गर्नु पर्ने अवस्था आउन सक्दछ’, आदेशमा भनिएको छ ।

यस्तो अवस्था आउन नदिन राज्यका जिम्मेवार निकायहरु अझ बढि गम्भीर र जिम्मेवार हुनै पर्ने भन्दै आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपभोगको विषयमा सरकार तथा सरकार मातहतका निकायहरु असंवेदनशील र गैर जिम्मेवार हुने छुटको लागि यो अदालत मौन रहन नसक्ने तर्फ विपक्षी नेपाल सरकार र सरकार मातहतका निकायहरु र जिम्मेवार पदाधिकारीको ध्यानाकर्षण गराइएको उल्लेख छ ।

प्रकाण्डलाई गैर कानूनी थुनामा राखेको देखिंदा आजै बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहरिएकाले अदालतका मूख्य रजिस्ट्रारको रोहवरमा छाडी सोको निस्सा मिसिल सोमल राख्न संक्षिप्त आदेश जारी गरेको छ । आदेशको पूर्णपाठ तयार गर्न समय लाग्ने भएकाले संक्षिप्त आदेश जारी गरिएको अदालतको फैसलामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =