बाढी पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङ, भाद्र २९ । बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकहरु अलपत्र परेका छन् ।

सडक अवरुद्ध भई सवारी साधन आवात जावात गर्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीले यो समस्या भोग्नु परेको हो ।

 ठाउँ ठाउँमा पहिरो जानुका साथै हिलो, कटान र बाढीले सडक अवरुद्ध भएपछि यात्रु गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका हुन् । म्याग्दीको रुप्से र मुस्ताङको घाँसादेखि लेते सडक खण्डको धेरै ठाउँमा अवरुद्ध भएकोे छ ।

७६ किलोमिटरको उक्त सडकमा गाडीबाट यात्रा गर्न सर्वसाधारणलाई तीन दिनसम्म लाग्ने गरेको स्थानिय जनताको गुनासो रहेको छ । सडक अवरुद्ध बनेपछि अलपत्र परेका भारतीय तीर्थयात्रीलाई बिहीबार हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

प्रभु एयरको हेलिकप्टरले दानादेखि बेनी ल्याएर करीब एक सय भारतीय तीर्थयात्रीको उद्धार गरेकोे दानाबाट स्थानीयवासी इन्द्रसिङ शेरचनले जनाए । मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमा समस्या उत्पन्न भएकोले कृषकहरु निराश भएका छन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि ल्याइएका डोजर परिचालन गरेर सडक मर्मतको काम गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले केही दिनलाग्ने आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले बताए । पहिरोले लेते खोला नजिकै करीब दश मिटर सडक बगाएको र बेलिब्रिज कटानको जोखिम अवस्थामा रहेको छ ।

कुन्जोमा स्वास्थचौकी तथा आमा समूहको भवनमा पनि क्षति भएको छ । थासाङ गाउँपालिका–२ सौरुमा बाढीले दश घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताए । पहिरोलाई हटाएर सडक मर्मत र पहिरो प्रभावितको व्यवस्थापनका लागि पहल गरिएको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =