एकमहिना अघिदेखि नाचगान गरेर संस्कृतिको संरक्षण होला त ?

काठमाडौँ, भदौ २४ । भाद्र शुक्ल द्वितीया देखि ४ दिन पञ्चमीसम्म मनाइने हरितालिका तीज नेपाली हिन्दू नारीहरुको महान् चार्ड हो । सालैभर दुखी देखिने महिलाहरु पनि यस दिन हर्षोल्लासका साथ नाचगान गरी आफ्नो सारा वेदना भुलेर रमाउने गर्दछन् । यो पर्व नारीको वर्षभरिको पीर व्यथा भुलाउने दिन पनि हो ।

तीज पर्व अविवाहिता नारीका लागि भन्दा पनि विवाहिता नारीका लागि विशेष मानिन्छ । विवाह गरेर दुरदराज श्रीमानको घर गएका महिलालाई यो चार्ड विशेष हुन्छ । तीज मनाउन माइत आएका महिलाहरु र गाउँघरका महिलाहरु भेला भएर तीज मनाउने गर्दछन् भने, तीजमा गाइने गीत मार्फत् आ–आफ्नो वेदना, सुख दुःख साटासाट गर्ने गर्दछन् ।

एक जमाना थियो, तीजमा माइती लिन आउनै पर्ने, लिन नआए घरकाले नपठाउने । घरमै तीज मनाउनु पर्दा नारीका लागि त्यो सालै नरमाइलो हुन्थ्यो । परिवार देखि गाउँका साथीसंगीले समेत हेप्ने तथा होच्याउने गर्दथे, अनि रातैभर माइतीको सम्झनामा रुन्थे ती महिलाहरु । साँच्चै त्यो समयमा तीजको महत्व नै बेग्लै हुन्थ्यो ।

महिलालाई त्यो समयमा घर, दैलो, चुलो चौकामा मात्रै सिमित राखिन्थ्यो । छोरालाई विशेष महत्वमा राखिन्थ्यो भने छोरीलाई पढाउने चलन सम्म पनि थिएन । खानेदेखि खेल्नेसम्ममा पनि विभेद गरिन्थ्यो ।

अझ भनौँ त पुरुषलाई मात्र जिन्दगी आफ्नो शैलीले जिउने अधिकार थियो । उनीहरु स्वतन्त्र थिए, महिलालाई घरको आँगन नाघेर बाहिर निस्कने छुट समेत थिएन ।

२१ औँ शताब्दीको कुरा गर्ने हो भने हाम्रो समाज र राष्ट्र पहिलेको तुलनामा आकाश जमिनको फरक छ । पहिलेको समाज र अहिलेको समाजलाई तुलना गरेर हेर्दा मुलुकले सामाजिक रुपान्तरणमा ठूलो फड्को मारेको अवस्था छ । परिवर्तनसँगै मान्छेका सोचाई र दृष्टिकोणमा पनि आमूल परिवर्तन आइसकेका छन् । महिलाहरुलाई पनि पुरुषसमान जिउने अधिकार छ । दुई दशक अघिसम्म नारीप्रति पुरुषले हेर्ने दृष्टिकोण नै साँघुरो थियो, अझै पनि हाम्रा गाउँघरमा यो श्रृंखला ब्याप्त छ । पुरुषले नारीलाई अझै पनि दुर्बल नै मानिरहेको अवस्था छ, चाहे शारिरीक रुपमा होस् वा मानसिक रुपमा । तर, यथार्थमा आजका नारीहरु शारीरिक तथा मानसिक रुपमा पुरुषभन्दा कमजोर पक्कै छैनन् । हाम्रो पुरुष प्रधान समाजको सोच र सामाजिक, सांस्कृतिक सोचका कारण नारीहरु कमजोर भएका पक्कै हुन् ।

मुलुकमा गणतन्त्र आइसकेको अवस्था र नयाँ संविधान कार्यान्वयन भएको अवस्थामा अहिले पुरुषलाई भन्दा नारीलाई बढि अधिकार दिइएको देखिन्छ । र केहि हदसम्म अहिले नारीहरु स्वतन्त्र भएका पनि छन् । तथापि, यो स्वतन्त्रतासँगै केहि विकृति विसंगति समेत नभित्रिएका भने होइनन् ।

अब नारीलाई प्राप्त स्वतन्त्रता र अधिकारलाई कसरी प्रयोग गर्ने वा त्यसलाई कसरी मर्यादित र व्यवस्थित तुल्याउने भन्ने कुरा चुनौतिपूर्ण देखिएको छ ।

चाडपर्वकै कुरा गर्दा अहिले महिलाहरुले मनाउने तीज । तीज आउनु भन्दा एक महिला अगाडी नै महिलाले तीज मनाउन सुरु गरिसकेका छन् । यो एउटा विकृति पनि हो । तीज आउनु एक महिना अगाडी नै महंगा भोज भतेर गर्ने, आफ्नो आर्थिक क्षमता भन्दा माथि गएर गरगहना किनेर लगाउने तथा अरुको देखासिकी गर्ने परिपाटी पक्कै महिला अधिकार भित्र पर्दैनन् ।

वर्षमा एक पटक आउने तीज अहिले बारम्बार आएझैँ लाग्छ । लाग्छ, महिलाहरुले आफ्नो स्वतन्त्रताका नाममा पुरानो सँस्कृति तथा रितिरिवाजलाई विकृत बनाउँदैछन् । त्यसको महत्वलाई विलिन बनाउँदैछन् स्वतन्त्रताका नाममा ।

एक दिन खाने दर महिनौँ अघिदेखि खान थालिसके, दिनहुँ नयाँ लूगा र गहना लगाएर हिँड्न थालिसके । महिनौँ सम्म तीजका नाममा रमाइलो गर्छन् । एक दिन मनाइने चार्डलाई एक महिना मनाउँदा के त्यसको महत्व रहला ?

तर, केहि महिलाहरु भने एक महिनादेखि तीज मनाउने कार्यलाई विकृति नभएको बताउँछन् । सर्लाही, हरिवन ८ कि ४१ वर्षीया सञ्जु दाहाल दिदीबहिनी भेला भएर रमाइलो गर्दा तीज पर्वमा अझै रौनक थपिने तथा दिदीबहिनीबीच आपसी सम्बन्ध थप सुदृढ हुने बताउँछिन् ।

एक हप्ता अघिदेखि नै मनाएपनि भाद्र शुक्ल द्वितीया देखि ४ दिन पञ्चमीसम्म मनाइने तीजको महत्व उही भएको उनको भनाइ छ । भाद्र शुक्ल द्वितीया अर्थात् दर खाने दिन साँझ १२ बजे दिदीबहिनी तथा परिवारका सबै सदस्य भेला भएर दर खाने चलन अझै पनि रहेको उनले सुनाइन् । ‘हामी हिन्दू नारीहरु तीजलाई महान् चार्डका रुपमा मनाउँछौँ, पानी पनि नखाइ शिवजीका लागि,निराहार व्रत बस्छौँ, ताकि उनी सदा हामीदेखि प्रशन्न रहुन् ।’

महिनावारी सुरू भएसँगै तीजको व्रत लिने चलन छ । विवाहिता नारी आफ्नो पतिको दिर्घायुको कामनाका साथ व्रत बस्छिन् भने अविवाहिता नारी शिवजी जस्तै वर पाउँ भनि व्रत बस्ने धार्मिक किंवदन्ती रहेको उनले बताइन् ।

‘दर खाएको भोलिपल्ट नुहाइ–धुवाइ गरी शुद्ध मनले विभिन्न प्रजातिका फुलपाति र फलफुल चढाइ शिवजीको पूजा उपासना गरिन्छ । शिवजीलाई विशेषगरी बेलपत्र चढाउने चलन छ । ‘दिनभर भोकै बसिन्छ, नाँचगान गर्ने गरिन्छ र साँझमा शिवजीलाई बत्ती बाली एकैछिन् छरछिमेकी भेला भएर पुनः नाँचगान गर्ने चलन अझै पनि जिवितै छ ।’ उनी भन्छिन् ।

अचेल भने साँझमा विवाहिता नारीले आफ्नो श्रीमान्को खुट्टाको पानी खाइ फलफुल खाने गर्दछन् । अविवाहिताले तुलसीको जल खाइ फलफुल खाने गर्दछन् । पहिले भने तीजको व्रत निराहार, निर्जला नै बस्ने गरिन्थ्यो ।

व्रत बसेको भोलिपल्ट अर्थात् चतुर्थीको दिन बिहान नुहाइ धुवाइ गरी शिवजी र सूर्यको पूजा गरेर खाना खाने चलन रहिआएको छ । पञ्चमीको दिनमा भने सबेरै खोला किनारमा गएर विभिन्न सामग्रीहरु जस्तैः दतिवन, तुलसाको माटो, रातो माटो, अमलाको फेदको माटो, हात्तीको पाइलाको माटो, गाइको गोबर आदि इत्यादीले पाउदेखि शिरसम्म एक एक अंगमा ३६५ चोटी लगाएर ३६५ पटक नै पखाल्ने गरिन्छ । र त्यही खोला किनारको छेउमा अथवा घरमा पण्डित बोलाएर पञ्चमी (सप्तऋषि) को पूजा लगाई व्रत अन्त्य गरिने धार्मिक प्रचलन रहिआएको छ ।

शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । सो पापबाट मूक्त हुन तीजको व्रत बसी पञ्चमी नुहाउने गरिन्छ ।

मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । ३६५ वटा दतिवन दिनको एउटा ३६५ दिनसम्म टोकेर तीजमा पञ्चमीको दिन खोलामा बगायो भने पनि रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष भइने पनि विश्वास छ ।

तीजको धार्मिक पृष्ठभूमिः

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् ।

पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो ।

त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

प्रस्तुतिः सृष्टि नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =