‘पूर्वसचिवका विषयमा बोल्न चाहन्न, मेलम्चीमा कसैको गिद्धे नजर पर्न दिनेछैन’

फागुन १०, काठमाडौँ । प्रतिनिधिसभाकाे बैठकमा खानेपानीमन्त्री विना मगरले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएकी छिन् ।
शुक्रबारको संसदमा सांसदहरूले मेलम्चीको पानी काठमाडौँ कहिले आउँछ, खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा, कमिसनको चक्कर लगायतका सवाल गरेका छन् भने मन्त्री मगरले यसको जवाफ दिएकी छिन् ।
प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको विषयमा जवाफ दिँदै केही मिडियाले आफूलाई नियोजित ढंगबाट बदनाम गराउन खोजेको आरोप लगाइन् भने सचिव ठाकुरको विषयमा बोल्न चाहिनन् ।
null
‘मन्त्रीले एक अर्ब खायो भनेर निकै प्रचारबाजी गरियो। मलाई निकै गम्भीर बनायो। म मन्त्री भएपछि ८४ करोड १५ लाख भुक्तानी गरेको हिसाब रहेछ। मन्त्रीले एक अर्ब खायो भनेर मिडियामा हल्ला पिटियो’, उनले भनिन् ।
संसदमा नेपाली कांग्रेसका सांसद गगन थापाले मन्त्री मगरलाई सचिव ठाकुरले लगाएको आरोपका विषयमा प्रश्न गर्दै भने, ‘सचिव गजेन्द्र ठाकुरले मन्त्रीले मुलुक डुबाउने काम गर्दै हुनुहुन्छ, सहयोग गर्न सकिएन भन्नुभएको छ । कि छापाले गलत छाप्यो। कि दुईमा एउटा दोषी हो। दोषीले सजाय पाउनुपर्छ।’
तर मन्त्री मगरले आफूले बनाएको फर्मुलाभित्र रहेर काम नगरेका कारण सचिव ठाकुरको सरुवा गरिएको स्पष्ट पार्दै भनिन्, ‘पूर्व सचिवले के प्रश्न उठाए के उठाएनन्, त्यो विषयमा म केही बोल्न चाहन्न। मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको आयोजना हो। यसमा कसैको जिद्धे नजर पर्न दिनेछैन।’
आफूले मन्त्रालय सम्हालेपछि मेलम्ची खानेपानी आयोजनाको कामले गति लिएको उनको दाबी थियो । सिएमसी आए अझै पनि उसैबाट काम गराउने तयारीमा मन्त्रालय रहेको बताउँदै उनले भनिन्, ‘हाम्रो निरन्तर प्रयत्न सफल भइरहेको छैन । हामीले छिटोभन्दा छिटो सिएमसीद्वारा काम सम्पन्न गर्ने प्रयत्न गरीरहेका थियौँ । तर सिएमसीले काममा ढिलासुस्ती गर्यो । अब सिएमसीबाट काम नभए हामी रिटेण्डरबाट अगाडि बढ्नेछौं।’








