७० करोड ठगेको आरोपमा कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारी पक्राउ

काठमाडौं, भदौ २१ । कम्पनी रजिष्ट्रार कार्यालयका दुर्इ ठूला कर्मचारी सहित १३ जना पक्राउ परेका छन् । कीर्ते कागजात खडा गरी ७० करोड ठगेको आरोपमा कम्पनी रजिष्ट्रार कार्यालयका दुई सहायक रजिष्ट्रारसहित १३ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल र उमेशमान जोशी समेत रहेका छन् भने, कम्पनी रजिष्ट्रार कार्यालयकै आइटी शाखामा कार्यरत आशिष महर्जन र पुष्पकला राई पनि पक्राउ परेका छन्।

रजिष्ट्रारकै दुर्इ कर्मचारी भने फरार रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

अनुसन्धान ब्यूरोको अनुसार ठगीका मुख्य योजनाकारहरू चन्द्रागिरी नगरपालिका ८ का राजनप्रसाद लम्साल, चन्द्रागिरी–१४ का निरजकुमार मानन्धर, रामेछाप सुनापाती–१ का जितबहादुर मगरलार्इ पक्राउ गरेको छ । यसैगरी पेप्सीकोला बस्ने पुण्यप्रसाद खरेल पक्राउ परेका छन्।

ठगीमा संलग्न अन्य काभ्रे–५ का राजकुमार तामाङ, चन्द्रागिरी–१० का हिमाल महर्जन, चिरीबाबु महर्जन र बारा घर भएका अमृत थापामगर रहेका छन् ।

ब्युरोका अनुसार मगरले सुरूमा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.का सञ्चालक काठमाडौं–४ चुनदेवी बस्ने भारतीय नागरिक राम निरञ्जन जटियाको घरबाट सो कम्पनीको कागजात चोरी गरे। लम्साल र निरजकुमारको सहयोगमा कीर्ते कागज बनाए। ‘कागजात, सहीछाप र हस्ताक्षर कीर्ते गरी जटियाको सबै सेयर खरिद गरेको निवेदन कम्पनी रजिष्ट्रारमा दिए,’ भट्टराईले भने, ‘त्यसपछि कम्पनी मगरको नाममा नामसारी गराएर ७० करोड बराबरको सम्पत्ति ठगी गरेको देखियो।’

पक्राउ परेका व्यक्तिले काठमाडौं महानगरपालिका ४ बालुवाटारको कित्ता नं. ४४१, ५०५ र ५४० को तीन रोपनी जग्गासहितको घर, सतुंगल वडा नं. ९ को कित्ता नं. १२६ को १५ रोपनी जग्गा, शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि. को नाममा रहेको म्याग्दी र नुवाकोटको जग्गा बेचबिखन गर्न बैना गरेका थिए।

अनुसन्धानमा शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रा.लि.को सञ्चालक समिति बैठकको निर्णय भनी सेयरधनी जटियाले जितबहादुर मगरलाई कम्पनीको ७५ प्रतिशत शेयर बिक्री गरेको कीर्ते कागजात खडा गरेको पाइएको छ।

विशेष साधारणसभा बैठकबाट मगरले आफूलाई अध्यक्ष बनाएको, जटियालाई सञ्चालक  भनी उल्लेख गरेको पत्ता लागेको छ। २०७५/०३ /२६ गते जटियाको सञ्चालक पदबाट राजीनामा स्वीकृतिको निवेदन पेश गरेको प्रहरीको दावि छ ।

कम्पनीको अर्को सञ्चालक समितिको बैठकले कम्पनीको २५ प्रतिशत बराबर हुन आउने ६२५० थान सेयर जटियाबाट जितबहादुर मगरले खरिद गरेको उल्लेख गरेको कागज बनाएको र कम्पनीको अर्को विशेष बैठकबाट जितबहादुर मगरको नाममा मात्र एक जनाको सञ्चालक समिति हुने भनी निर्णय गरेको देखिएको ब्युरोले उल्लेख गरेको छ।

कम्पनी रजिष्ट्रार कार्यालयको २०७५/०३/२९ र ३२ गतेको निर्णयले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.को सेयर लगत जटियाको नामबाट मगरको नाममा नामसारी गरेको देखिएको छ ।

काठमाडौं–४ बस्ने राजभाई श्रेष्ठलाई शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि. को शेयरधनी हुँ भनी मगर समेतले बालुवाटारको १४ आना १ पैसा ३ दाम जग्गा प्रतिआना २१ लाख २५ हजारको दरले खरिदका लागि बैंकमार्फत एक करोड बैना लिएको भेटिएको छ।

चितवन जिल्ला भरतपुर नगरपालिका वडा नम्बर ४ घर भई लामो समयदेखि जापानमा व्यवसाय गरी बस्ने प्रेमसागर सापकोटालाई शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि. को सेयरधनी भन्दै चन्द्रागिरीको १५ रोपनी जग्गा बिक्रीका लागि दुई करोड बैना समेत लिइएको छ।

पक्राउ परेकालाई विद्युतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा मुद्दा चलाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =