हुने भयो मून–कीम शिखर बैठक असोज २ मा

सिओल, भाद्र २१ । दक्षिण कोरियाका राष्ट्रपति मून जाए¬–इन र उत्तर कोरियाली नेता कीम जोङ–उनबीचको शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा आगामी असोज २ मा गर्नेगरी मिति तय भएको मूनका विशेषदूतले बताए ।

उत्तर कोरियाको भ्रमण गरेका राष्ट्रपति मूनका विशेषदूत चुङ उई–योङले उच्चस्तरीय बैठकको तयारीका लागि वार्ता र सहमतिहरु हुनेक्रममा रहेको जानकारी दिए ।

राष्ट्रपतीय राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुख समेत रहेका चुङले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उत्तर कोरिया भ्रमण गर्नुभएको थियो । उहाँका साथ राष्ट्रिय गुप्तचर निर्देशक सुह हून पनि सहभागी भएका थिए ।

मून र कीमबीचको यो तेस्रो शिखर बैठक हो भनेर यसअघिका दुईवटा भेटवार्ता सीमावर्ती गाउँ पानमुनजोममा भएका थिए ।

चुङले आगामी शिखर बैठकमा पानमुनजोममा दुई नेताबीच सम्पन्न अन्तर–कोरियाली शिखर बैठकका सम्झौताको कार्यान्वयनको समीक्षा हुने बताए । “दुबै मुलुकबीच पानमुनजोम घोषणापत्रको कार्यान्वयनको समीक्षा गर्न सहमति भएको छ र दिगो शान्ति स्थापनाका लागि व्यावहारिक उपायहरुको खोजीका विषयमा छलफल हुनेछ । साथै, बैठकमा कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरण सहित समृद्ध कोरियाली द्वीप बनाउने उपायको खोजी गर्नेछन् ।”

उत्तर कोरियाली नेताले आणविक निःशस्त्रीकरण प्रतिको प्रतिबद्धतालाई पुनः दोहो¥याएको, र त्यसका निम्ति संयुक्तराज्य अमेरिकासँग मिलेर काम गर्न उत्सुक रहनुभएको चुङले जानकारी दिए ।

“अध्यक्ष कीम जोङ–उनले कोरियाली द्वीपमा पूर्ण आणविक निःशस्त्रीकरण गर्न पुनः प्रतिबद्धता व्यक्त गरेका छन् , र त्यसका निम्ति दक्षिण कोरियामात्र नभइ अमेरिकासँग समेत मिलेर काम गर्ने इच्छा जाहेर गरे,” दक्षिण कोरियाली राष्ट्रपतिका उच्च सुरक्षा सल्लाहकार जो¬ङले बताए ।

दक्षिण कोरियाली प्रतिनिधिमण्डलले तेस्रो शिखर बैठकको मिति तय गर्ने मात्र उद्देश्य राखेको थिएन, यसले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच आणविक निःशस्त्रीकरणका विषयमा देखिएका कठिनाइलाई फुकाउने पनि उद्देश्य राखेको थियो ।

उत्तर कोरियाबाट आणविक निःशस्त्रीकरण प्रक्रियामा व्यक्त प्रतिबद्धता बमोजिम पर्याप्त काम नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले विदेशमन्त्री माइक पोम्पेओको पूर्व निर्धारित उत्तर कोरिया भ्रमण केही दिनअघि रद्द गरेका थिए ।

तर उत्तर कोरियाली नेता कीमले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्लेषणप्रति असहमति व्यक्ति गरे । नेता कीमको भनाइ उद्धृत गर्दै चुङले भने, “उत्तर कोरियाले आणविक निःशस्त्रीकरणका बारेमा गरेका कार्यहरु अर्थपूर्ण र महत्वपूर्ण रहेको छ ।”

कीमले पुन्ग्ये–री को आणविक परीक्षणस्थल ध्वस्त बनाइसकेको र आफूसँग अरु थप आणविक परीक्षण गर्ने स्थल नरहेको स्पष्ट गरेका थिए । नेता कीमले भने, “अन्तर्राष्ट्रिय समुदायले आफ्ना कार्यहरुको समर्थन गर्न हिच्किचाएको घटनाबाट आफूलाई दुःख लागेको छ ।”

नेता कीले जनवरी २०२१ अघि नै उत्तर कोरिया र अमेरिकाबीचको शत्रुतापूर्ण सम्बन्धलाई अन्त्य गर्ने र कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरणबाट मुक्त राख्ने आशा व्यक्त गरे । “नेता कीमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको आशामा कुनै परिवर्तन भएको छैन” भनेर चुङले भने ।

सन् १९५०–५३ मा भिषण युद्ध लडेका दुई कोरिया प्राविधिक रुपमा अझै पनि युद्धकै स्थितिमा रहेका छन् । दुई कोरियाबीच हतियार बिसाउने (युद्धबिराम) सम्झौता भएको तर शान्ति सन्धि भएको छैन ।

मून र कीमले औपचारिक रुपमै यस वर्षको अन्त्यअघि नै युद्ध समाप्त भएको घोषणा गर्न सहमति जनाएका छन् । यस्तो घोषणाप्रति अमेरिकीहरुको धारणा केही फरक छ किनभने युद्ध समाप्त भएको घोषणा हुनासाथ दक्षिण कोरियामा तैनाथ हजारौं अमेरिकी सेनालाई फिर्ता लैजानुपर्ने दबाब सिर्जना हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =