लापरबाहीपूर्वक मासु ढुवानी गर्ने २ जना पक्राउ

चैत्र २२, काठमाडौं। महानगरीय प्रहरी वृत्त थानकोटले लापरबाहीपूर्वक मासु ढुवानी गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-११ सतुंगल बस्ने राजन तामाङ र सोही ठाउँका हेमन्त अधिकारी रहेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले जानकारी दिए।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले थानकोट चेकपोस्टबाट २ वटा मोटरसाइकलमा लापरबाहीपूर्वक मासु ढुवानी गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूले लकडाउनको समयमा लापरबाहीपूर्वक मासु ढुवानी गरेर जनस्वास्थ्यमाथीको ठूलो खेलबाड गरिरहेको प्रहरीको भनाइ छ।
पहिलो चरणमा निजहरूलाई पशु क्वारेन्टाइन शाखा कार्यालय नागढुंगाको समन्वयमा जनही ५ हजारका दरले जरिवाना गरिएको प्रहरीले जनाएको छ। पशु क्वारेन्टाइन शाखा कार्यालय नागढुंगाका अनुसार पशुसम्बन्धी ऐन अनुसार उनीहरूलाई कारबाही गरिएको हो।









