निजामुद्दिन साई पक्राउ

बाँके, ७ चैत । प्रहरीले अपहरणमा संलग्न अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ । जानकी गाउँपालिका–३ इन्द्रपुरका ५० वर्षीय निजामुद्दिन साईलाई पक्राउ गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–९ का २२ वर्षीय मुन्नु अन्सारीलाई अपहरण गरी साई रु नौ लाख फिरौती लिएर फरार रहेका थिए । मुन्नु भने अझै बेपत्ता छन् । साईलाई बाँके जिल्ला अदालतले नौ वर्ष कैद तथा रु नौ लाख ५० हजार जरिवाना तोकेको थियो । विसं २०६९ असार २६ गते घर नजिकैबाट आमिरलाई अपहरण गरी बेपत्ता पारिएको हो ।
अपहरणपछि रु २० लाख फिरौती माग गरेका अपराधीलाई पीडित परिवारले रु नौ लाख बुझाएको थियो ।
null
आफ्नै मामा सिराजुल रहमान अन्सारीमार्फत दिइएको रु नौ लाख पाएपछि अपराधीले पीडित परिवारसँग सम्पर्कविच्छेद गरेका थिए । तत्कालीन जिल्ला न्यायाधीश हरिप्रताप केसीले उक्त फैसला गर्दै जरिवानाबाट पीडित परिवारलाई क्षतिपूर्ति भराउन आदेश दिएका थिए । अदालतले साईसहितका नौ जनालाई कैद सजाय र जरिवाना गरेको थियो । मुन्नुका दाजु ताहिर अन्सारीले दिएको जाहेरीमाथि माग दाबीअनुसार नै अदालतले फैसला गरेको थियो । प्रहरीका अनुसार अपहरणमा संलग्न कम्दीका झल्लु धोबी, बकरिदी शेष, भारतीय नागरिक इरसाद खान, मोइन कुरैसी र सिराजुल रहमान अन्सारी अझै फरार छन् ।
“भाई नफर्किए पनि अपराधीलाई कारवाही भएकामा न्यायको अनुभूति भएको छ”, ताहिरले भने , “अपराधीले भाइको हत्या गरेको सूचना पाएका थियौँ, शव गाडिएको ठाउँसमेतको जानकारी आएकाले उत्खनन गरेर डिएनए परीक्षण गर्न पाउनुपर्ने परिवारको माग छ ।”
इन्द्रपुरकी सुष्मी वर्मा र भवानीयापुरका प्रमोद गिरी अदालतको आदेशपछि छुटिसकेका छन् । प्रहरी उपरीक्षक अरुण पौडेलले फरार रहेका अभियुक्तलाई चाँडै पक्राउ गरिने बताए ।








