यस्ता व्यक्तिका लागि अतिआवश्यक योग

माघ १६, काठमाडौँ । योग सन्तुलित तरिकाले एक व्यक्तिमा निहित शक्तिमा सुधार या उसको विकास गर्ने शास्त्र हो। यसमा पूर्ण आत्मानुभुति पाउनका लागि इच्छुक मानिसहरूका लागि साधन उपलब्ध गराउँछ। स्वस्थ्य, निरोगी, दीर्घजीवि कसरी हुने ? यसको सबैभन्दा सरल र प्राकृतिक विधी हो, योग ।
न हामी उपचार गरेर निरोगी हुन्छौं, न औषधी सेवन गरेर नै । यद्यपी स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्छ, जसले हामीलाई निरोगी, जवान, उर्जावान् बनाउँछ । योगको शाव्दिक अर्थ जोड हो । आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ । तर, अहिले योगको परिभाषा बदलिएको छ ।
अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ ।

योगः एक जीवन पद्दति
योग भनेको रोगी व्यक्तिहरुका लागि चिकित्सा पद्दति हो । योगको माध्यमबाट रोगी व्यक्तिले आफुलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् ।
स्वस्थ्य व्यक्तिहरुका लागि जीवन पद्दति र योगीरुका लागि साधना पद्धति हो ।
यस अर्थमा योग सबैका लागि हो । योगलाई उपयोग गरेर सबैका लागि उपयोगी तथा सहयोगी बन्ने सक्ने भएकाले पनि योग आवश्यक छ ।
योगमा जम्मा ८ आसन हुन्छ । त्यसमा याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि, त्याग पर्दछ । योगा त्यसमध्यको एउटा आसन हो ।
किन आवश्यक छ योग ?
परापूर्वकालमा ऋषिमुनि तथा योगीहरु अदृश्य शक्तिसित आफूलाई जोड्नका लागि योग गर्थे । अहिले बद्लिदो जीवनशैली तथा खानपानका कारण मानिसहरुलाई स्वस्थ रहन पनि योग आवश्यक छ । जब मानिस व्यक्तिगत रुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छ, त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ ।
योगले शरीरमा अक्सिजनको मात्रा बढाउँछ
बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्छ ।
योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ । यसले शरीरमा व्यायामको काम गर्छ ।
जहाँ जहाँ व्यायाम हुन्छ, त्यहाँ रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढ्छ । जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सवै अवयवहरु स्वस्थ्य हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ नै, रोगको समेत निदान हुन्छ ।
अहिले योग गर्नेमा धेरैजसो रोगीहरु छन् । उच्च रक्तचाप, मधुमेह, ढाडका रोगी तथा ग्याष्टिकका विरामीहरु बढी योगतर्फ आकषिर्त छन् । तर, जो कसैले योग गर्दा सुरुमा प्रशिक्षकसित सिकेर मात्र योग गर्न आवश्यक छ । त्यस्तै, योग गर्दा रोग र आफ्नो शारीरीक अवस्थामा ध्यान दिन जरुरी छ ।
जटिल समस्या भएमा प्राणायाम, कपालभाती, अनुलोम विलोम गर्न सकिन्छ । तर, शल्यक्रिया गरेको, गर्भवती भएमा, पेटमा घाउ वा अल्सर भएमा कपालभाती गर्न मिल्दैन । विकारलाई क्षय गर्ने कपालभाती तथा शक्तिलाई सञ्चित गर्न अनुलोपविलोप हो ।
त्यसबाहेक, सूर्य नमस्कार सबैले गर्न मिल्ने आसन हो । सूर्य नमस्कारमा जम्मा १२ वटा आसन हुन्छ । सबै आसन गर्न भ्याएन भने पनि सूर्य नमस्कारका १२ वटा आसन र केहीबेर प्राणायम गरेमा मात्र पनि शरीर स्वस्थ्य रहन्छ । एजेन्सी










