त्रिकोणात्मक सिरिजः आज नेपाल र सिंगापुर भिड्दै

असोज ११, काठमाडौं । त्रिकोणात्मक सिरिजमा नेपालले आज दोस्रो खेलमा घरेलु टोली सिंगापुरसँग खेल्दै छ । अघिल्लो महिना सिंगापुरसँग नेपाल आईसीसी टि २० विश्वकप एसिया छनोटमा ८२ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाल उक्त हारको बदला लिने सोचका साथ मैदानमा उत्रदैछ । पहिलो खेलमा जिम्बावेसँग गरेको प्रर्दशनले नेपालको मनवोल उच्च छ । नेपालले जिम्बावेलाई कडा चुनौती दिएको थियो । तर ५ विकेटले पराजित भएको थियो ।
नेपाली टोलीमा आज परिवर्तन गर्ने सम्भावना न्युन छ । जिम्बाबेसँग उप कप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । आजको खेलमा कप्तान पारस खड्काबाट ठूलो इनिङको आशा गरिएको छ । बलिङ सन्दीप लामिछानेले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए । उनले साथ पाएका थिएनन् । प्रमुख तीन तीब्र गतिका बलर सोमपाल, करण केसी र अभिनाश बोहोरा भने विकेट विहीन बनेका थिए ।
यता सिंगापुर एक महिना अघि आईसीसी टि २० विश्वकप एसिया छनोटको नतिजा निकाल्न चाहन्छ । आईसीसी वोल्डकप च्लालेन्ज लिग ए मा उत्कृष्ट प्रर्दशन गर्दै दोस्रो स्थानमा सकाएको छ । टिम डेविडको आगमनले सिंगापुर बलियो बनेको छ । टिम डेविड अष्ट्रेलियाको सिनियर टोलीमा नपरेपछि सिंगापुरबाट खेल्ने निर्णय लिएका हुन् ।

विश्वकप छनोटमा नेपाललाई निराश बनाउन डेविडले ७७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उनी राम्रो लयमा छन् । डेभिड दुई दिन अघि सम्पन्न आईसीसी वोल्डकप च्यालेन्ज लिग ए मा ५ खेलमा ४ अर्ध शतक सहित ३ सय ६९ बनाउँदै सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उत्कृष्ट लयमा रहेका उनलाई रोक्न निकै कठिन पर्ने अनुमान गरिएको छ । नेपालविरुद्ध ४ विकेट लिएका विजय कुमार घातक बन्न सक्छन् । त्यस्तै विकेटकीपर मनप्रित सिंह, अनन्थ कृष्ण, सुरेन्द्रन चन्द्रमोहन जनक प्रकाश, टिम डेभिड उसका प्रमुख हतियार हुन् ।
सिंगापुर क्रिकेट बोर्डले आगमी अक्टोर १८ देखी नोभेम्बर २ सम्म यूएईमा हुने आईसीसी टि २० ग्लोबल विश्वकप छनोट अघि तयारी स्वरुप नेपाल र जिम्बावेसँग त्रिकोणात्मक सिरिज खेलेको हो । एक महिना अघि घरेलु मैदानमा सिंगापुर आईसीसी टि २० एसिया विश्वकप छनोटमा शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुगेको थियो । यसै प्रतियोगितामा नेपाल सिंगापुर र कतारसँग पराजित हुँदै तेस्रो स्थानमा रहेपछि विश्वकप यात्राबाट बाहिरिएको हो ।








